खेल

भलिबल एकेडेमी शिलान्यास

खजुरा गाउँपालिका–२ मा बन्ने भलिबल एकेडेमीको शिलान्यास गर्दै राखेप सदस्यसचिव केशवकुमार विष्ट। तस्विर/नागरिक

बाँके – खजुरा गाउँपालिकाको २ नम्बर वडामा नेपालकै पहिलो भलिबल एकेडेमी निर्माण हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट र क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष भीम ओलीले भलिबल एकेडेमीको शिलान्यास गरेका हुन्।

खजुरा गाउँपालिकाको रिमझिम चोकनजिकै शुक्र माविको ४ बिघा जमिनमध्ये ढेड विघा जमिनमा इन्डोर कभर्ड हल, होस्टेलसहित भलिबल एकेडेमी निर्माण गरिनेछ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर एकेडेमी निर्माण तीव्र गतिमा अगाडि बढ्ने सदस्यसचिव विष्टले बताए । एकेडेमी निर्माणका लागि पहिलो चरणमा ३ करोड बजेट छुट्याउने तयारी गरिएको विष्टले बताए । एकेडेमी ३ हजार दर्शक क्षमताको बन्ने परिषद्ले बताएको छ।

खजुरा गाउँपालिकामा भलिबल एकेडेमी निर्माण भए नेपालकै पहिलो भलिबल एकेडेमीका रूपमा विकास गर्ने सोचका साथ अगाडि बढेको क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष भीम ओलीले बताए ।एकेडेमी निर्माण कार्यलाई विद्यालय र सर्वदलीय बैठकमार्फत तीव्रता दिने ओलीले बताए।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि एकेडेमीले सहयोग गर्ने अध्यक्ष ओलीले बताए । ६ वर्षअघि एकेडेमी निर्माण गर्ने बारेमा अध्ययन भए पनि अहिले एकेडेमी निर्माण सुरु हुनु बाँकेबासीका लागि खुसीको कुरा भएको ओलीले बताए।

खजुराबासी भलिबलप्रेमी भएका कारणले एकेडेमी खजुरा क्षेत्रमा बनाउन उपयुक्त देखिएको सदस्यसचिव विष्टले बताए । उनले भने, ‘हामीले देख्यौं, भलिबलमा जहाँ मानिसको आर्कषण छ, त्यहाँ प्रतियोगिता र पूर्वाधार हुनुपर्छ । हामीले जहाँ पूर्वाधार निर्माण गर्ने कुरा सुरु गरेका छौं, त्यो समयमै पूरा भएको छ । भलिबल एकेडेमी ६ महिनाभित्र बन्छ ।’ एकेडेमीनजिकै भएको अन्य जग्गामा पनि खेलकुदका अन्य पूर्वाधार बनाउनमा गाउँपालिकाले अध्ययन गर्नुपर्ने विष्टले बताए।

 


 

प्रकाशित: ९ फाल्गुन २०७४ ०४:१२ बुधबार

भलिबल एकेडेमी शिलान्यास