खेल

नाथम हस्पिटालिटी कप हुने

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको आयोजनामा २९ पुस देखि ४ माघसम्म नाथम हस्पिटालिटी कप इन्डोर क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

नाथममा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको लागि प्रतिष्ठानले खोलेको विभिन्न क्लबहरू मध्ये हेल्थ एन्ड स्पोर्टस् आइटी मिडिया क्लबले गोल्फुटारमा रहेको रोयल इन्डोर क्रिकेटमा पाँचदिने प्रतियोगिता आयोजना गर्न लागेको हो।

प्रतियोगितामा उपत्यकका १६ कलेजले सहभागिता जनाउने क्लबका अध्यक्ष रजतविक्रम कार्कीले जानकारी दिए। प्रतियोगिताबाट विभिन्न कलेजसँगको सम्बन्ध राम्रो हुने र खेलाडीबीच भाइचारा हुने कार्कीले बताए। प्रतियोगिताको विजेताले ७० हजार र दोस्रो हुने टोलीले ३५ हजार रूपैयाँ हात पार्ने नाथमका डम्बर भट्टले बताए।

पहिलो हुने टोलीलाई मकवानपुरस्थित टिस्टुङमा रहेको एक रिसोर्टमा र दोस्रो हुने टोलीलाई चित्लाङ अर्गानिक भिलेजमा एक रात लजिङ फ्रिको व्यवस्था रहेको भट्टले जानकारी दिए।

प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट खेलाडीलाई समेत विशेष पुरस्कारको व्यवस्था रहेको छ। प्रतियोगितामा सहभागी हुने प्रत्येक टोलीलाई १५ हजार रूपैयाँ शुल्क बनाइएको छ।

प्रकाशित: २७ पुस २०८० ००:४३ शुक्रबार

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान नाथम हस्पिटालिटी कप इन्डोर क्रिकेट प्रतियोगिता २९ पुस देखि ४ माघसम्म