खेल

बायर्नको फराकिलो अग्रता

बर्लिन – स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले इन्जुरी समयमा पेनाल्टीमा गोल गरेपछि उल्फस्बर्गलाई २–१ को नतिजामा हराउँदै बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा अग्रता २१ अंकले फराकिलो पार्न सफल भएको छ।

आठौं मिनेटमा ड्यानियल डिभाडीले युनुस मालीको पासमा गोल गर्दै उल्फसबर्गलाई अग्रता दिलाएका थिए । ६४औं मिनेटमा बायर्नले बराबरीको सुनौलो अवसर पाएको थियो । तर आर्येन रोबेनको पेनाल्टी उल्फस्बर्गका गोलकिपर कोइन कास्टिल्सले रोकेर शीर्ष टोलीलाई निराश पारेका थिए।

उल्फसबर्गको उत्साह अन्तिम सिठीसम्म कायम रहन सकेन । खेल सकिन १० मिनेट बाँकी रहँदा सान्ड्रो वाग्नरले गोल गर्दै बायर्नलाई बराबरीमा ल्याए । जहाँ इन्जुरी समयमा लेवान्डोवस्कीले गोल थपेर बायर्नको तीन अंक पक्का गरे । जियान–लुका इटरले रोबेनमाथि खराब फाउल गरेपछि बायर्नले पेनाल्टीको अवसर पाएको थियो।

यस जितपछि २३ खेलको समाप्तीमा ५९ अंक जोडेको बायर्न शीर्ष स्थानमा यथावत छ । समान खेल खेलेको बायर लेभरकुसन ३८ अंकका साथ दास्रो स्थानमा छ । लेभरकुसनले शनिबारै भएका अर्को खेलमा ह्यामबर्गमाथि २–१ को जित हासिल गरेको थियो।
लेभरकुसनको जितमा लियोन बेली र काई हार्भाटेजले समान एक–एक गोल गर्दा ह्याम्बर्गका आन्द्रे हान्चले सान्त्वना एक गोल गरे।

यस जितपछि ३८ अंक जोडेको लेभरकुसन दोस्रो स्थानमा उक्लिँदा समान खेलमा ३२ अंक जोडेको ह्याम्बर्ग सातौं स्थानमा छ।
जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा साल्केले होफेनहेइमलाई २–१ ले पराजित गर्दा एफसी कोलोग्न र ह्यानोभले १–१ को बराबरी खेलेका छन्।
 

प्रकाशित: ७ फाल्गुन २०७४ ०४:०६ सोमबार

बायर्नको फराकिलो अग्रता