खेल

राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा राजुलाई स्वर्ण

मध्यपुर ठिमीमा जारी २६औं भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिपमा आज बुधवार पुरुष ६७ केजीतर्फ राजु चौधरीले स्वर्ण जितेका छन्।

यस विधामा नेपाली आर्मीका मुक्तिराम घलेले रजत जिते। जुनियर ६७ केजी पुरुषतर्फ कास्कीका रोशन चुनवाङले स्वर्ण र ललितपुरका मोहित शाक्यले रजत जितेका छन्। युथ पुरुष ६७ केजीतर्फ सप्तरका अनुराग सिंह पहिलो र कञ्चनपुरका दीपेश घटाल दोस्रो भए। ७३ केजीतर्फ सिनियर पुरुषमा नेपाल प्रहरीका प्रकाश केसी पहिलो र कञ्चनपुरका अशोकसिंह भण्डारी दोस्रो भए। ७३ केजी जुनियर पुरुषतर्फ कञ्चनपुरका हेमन्त पाल पहिलो र इलामका पुस्कर राई दोस्रो भए।

७३ केजी युथतर्फ सप्तरीका हेमनारायण यादव स्वर्ण जित्न सफल भए। यसअघि हिजो मंगलवार महिला ४९ केजीतर्फ नेपाल प्रहरीकी कृष्णकला बिष्टले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। उनले स्न्याचतर्फ ५९ र क्लिन एण्ड जर्कतर्फ ७७ किलो उचाल्दै नयाँ राष्ट्रिय किर्तिमानसहित स्वर्ण जितिन्। यही विधामा नेपाली सेनाकी सिर्जना तामाङले रजत जितिन्। त्यस्तै ५५ केजी पुरुष सिनियरतर्फ नेपाल प्रहरीका दिलिप यादवले स्न्याचतर्फ ८२ र क्लिन एण्ड जर्कतर्फ १ सय ३ किलो भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते।

यही विधामा नेपाली सेनाका दीपकबहादुर भण्डारी दोस्रो भए। पुरुष ६१ केजीतर्फ नेपाली सेनाका तुलाराम महतोले स्वर्ण र एपिएफका पारस देसारले रजत जिते। महिला ४५ केजी सिनियरतर्फ नेपाल प्रहरीकी हिरामोति थारु पहिलो र एपिएफकी लिला राई दोस्रो भए। ५५ केजी महिला सिनियरतर्फ नेपाली सेनाकी प्रभा थारु पहिलो र ललितपुरकी सप्रिना श्रेष्ठ दोस्रो भए। बिहीवारसम्म चल्ने प्रतियोगितामा नेपालका २३ जिल्लाका १ सय ६४ खेलाडीहरुले प्रतिष्पर्धा गरिरहेका छन्।

प्रकाशित: २५ पुस २०८० १३:२८ बुधबार

राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप पुरुष ६७ केजीतर्फ राजु चौधरीले स्वर्ण जिते नेपाली आर्मीका मुक्तिराम घलेले रजत जिते