खेल

पल्सर स्पोर्टस् अवार्ड माघ १२ गते

हंसराज हुलासचन्द एन्ड कम्पनीका कार्यकारी निर्देशक अभिमन्यु गोल्छा (बायाँ) र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी सम्झौतापत्र आदानप्रदान गर्दै। तस्बिर : नागरिक

नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २०औं संस्करण आगामी माघ १२ गते हुने भएको छ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै पल्सरको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीसँग सम्झौता गरेको छ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र मुख्य प्रायोजक हंसराज हुलासचन्द कम्पनीका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। २०६० सालदेखि हुँदै आएको नेपाली खेलकुदको लोकप्रिय अवार्डलाई गोल्छा ग्रुपले साथ दिएको यो लगातार १५औं वर्ष हो। सम्झौताअनुसार गोल्छा ग्रुपले यस पटक पाँच वटा बजाज पल्सरको एन सिरिज मोटरसाइकल प्रदान गर्नेछ।

पाँच वटामध्ये एन २५० दुई वटा र एन १६० तीन वटा मोटर साइकल रहेको छ। साथै गोल्छाले १२ लाख रूपैयाँ नगद पनि दिने उल्लेख गरेको छ। पल्सर स्पोर्टस् अवार्ड नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसहित प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने कार्यक्रम हो।

सो अवसरमा कम्पनीमा निर्देशक अभिमन्यु गोल्छाले पल्सरको उद्देश्य नेपाली खेलकुदसँगै युवाहरूसँग जोडिनु रहेको उल्लेख गर्दै यो अवार्डले नयाँ बेन्चमार्क स्थापित गरेको धारणा राखेका थिए।

‘मञ्चले हरेक अवार्डमा नयाँनयाँ शैली र प्रविधि अपनाएर अवार्डलाई उच्च स्तरको बनाएको छ। मञ्चसँग सहकार्य गर्न पाउँदा गोल्छा ग्रुप गर्व महसुस गर्छ। जस्तोसुकै आर्थिक परिस्थिति भए पनि गोल्छाले मञ्चसँग सहकार्य गर्दै जानेछ,’ अभिमन्युले भने।

मञ्चका अध्यक्ष सुवेदीले आर्थिक रूपमा कठिन परिस्थितिमा कम्पनीले लगातार अवार्डलाई साथ दिएकोमा गोल्छा ग्रुपको कदमको सहयोग सराहानीय रहेको भन्दै प्रशंसा गरे। यस पटक मनोनयनमा पर्ने खेलाडी र अवार्ड कार्यक्रमको ढाँचामा परिवर्तन गरिने एनएसजेएफले जनाएको छ।

यसअघि प्रज्ञा प्रतिष्ठानमा अवार्ड भए पनि केही नयाँ गर्ने उद्देश्यले कार्यक्रम स्थल र कार्यक्रमको शैलीमा परिवर्तन गरिने मञ्चका अध्यक्ष सुवेदीले बताएका छन्। यस वर्ष पनि अवार्डमा ९ विधा नै समावेश छ। जसअन्तर्गत वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड छन्।

यी पाँच जना अवार्ड विजेताले पल्सर मोटरसाइकल पाउनेछन्। यीमध्ये वर्षखेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ।

यस अवार्डमा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड विधा रहनेछ। यस विधाका विजेताले जनही ५० हजार रूपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन्। मनोनयन नहुने विधा लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ।

गत वर्ष पुरुषतर्फ फुटबलका अञ्जन विष्ट, महिलातर्फ भलिबलकी अरूणा शाही र प्रशिक्षकतर्फ फुटबलका अब्दुल्लाह अल्मुताइरी, युवामा मनीष डाँगी उत्कृष्ट भएका थिए।

पिपल्स चोइस अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी थिइन्। स्पेसल अवार्ड दानबहादुर तामाङ र उनकी पत्नी मायादेवी मोक्तानलाई प्रदान गरिएको हो। उनीहरू ब्याडमिन्टनका रत्नजित, सरादेवी र नङ्सदेवीका मातापिता हुन्।

पारा एथलिट सम्मान तेक्वान्दोकी पलेशा गोवर्धन, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड कतारका मोहम्मद हिजी र लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पिक रघुराज वन्तलाई प्रदान गरिएको थियो।

प्रकाशित: २३ पुस २०८० ००:५६ सोमबार

गोल्छा ग्रुप हंसराज हुलासचन्द एन्ड कम्पनी सम्झौतापत्र एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०औं संस्करण