खेल

केन्यामाथि नेपालको रोमाञ्चक जित (फोटो फिचर)

तस्बिर सौजन्य : रमन शिवाकोटी

काठमाडौं – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत चौथो खेलमा नेपाल विजयी भएको छ। नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा केन्यालाई ३ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो। 

टस जितेर फिल्डिङ रोजेको नेपालले केन्यालाई ५० ओभरमा ८ विकेट लिँदै १७७ रनमा समेट्यो। १७८ रनको चुनौतीसहित जवाफी व्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा अन्तिम बलमा लक्ष्य पूरा गर्यो।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए। कप्तान पारस खड्का र आरिफ शेखले समान ४२–४२ रन जोडे। शरद भेष्वाकरले १९ रन बनाउँदा अन्य व्याट्सम्यान चल्न सकेनन्। उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रनमा आउट हुँदा सोमपाल कामीले नटआउट ५ रन जोडे। बलिङतर्फ केन्याका इबी रिङगेराले सर्वाधिक ३ विकेट लिए।

यसअघि टस हारेर व्याटिङको निम्तो पाएको केन्याका लागि आए करिमले सर्वाधिक ४२ रन बनाए। एए ओबाण्डाले ४१, को ओब्युले २७, एनएम ओडिम्बोले २४, सो नोग्चेले २३ रन जोडे । नेपालका सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट लिए। सोमपाल कामी, बसन्त रेग्मी र शरद भेष्वाकरले समान १–१ विकेट लिए।

खेलमा नेपालका सन्दिप लामिछाने म्यान अफ म्याच घोषित भए।  

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता तथा इन्टरकन्टिनेन्टल कपमा दुई टिम छनोट गर्नका लागि आयोजित प्रतियोगितामा नेपालले यसअघि पहिलो खेलमा आयोजक नामिबियामाथि १ विकेटको जित हात पारेको थियो। दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा युएईमाथि ४ विकेटको जित हात पारेको छ। ३ खेलमा जितसँगै नेपालको छनोट सम्भावना बढेको छ।

नेपालले अन्तिम खेलमा बुधबार क्यानडाको समाना गर्नेछ।

केन्यामाथि नेपालको रोमाञ्चक जित फोटो फिचर