खेल

खेलमा छैन खेलाडीको ध्यान

प्यालिस्टाइनी खेलाडीलाई प्रशिक्षण दिँदै प्रशिक्षक मकरम दबौब। तस्बिर : एएफपी

गाजाको युद्धका कारण प्यालेस्टाइनले कतार एसियन कप २०२३ को उद्घाटन सुरु हुन दुई हप्ता बाँकी छँदा पनि आफ्नो ध्यान केन्द्रित गर्न संघर्ष गरिरहेको छ।

हमासले अक्टोबर ७ मा दक्षिण इजरायलमा हमला गरेपछि जबाफमा इजरायलले गरेको लगातार आक्रमणका कारण कयौं खेलाडीले आफन्तजन गुमाइसकेका छन्। गाजाका धेरै भूभागहरू भग्नावशेषमा परिणत भएका छन्। धेरै जसो हवाई क्षेत्रहरूमा क्षति पुगेको छ। स्टेडियमहरूमा पनि पूर्ण क्षति पुगेको छ।

केही फुटबलका मैदानहरूमा अस्थायी चिहान राखिएका छन्। किनकि स्टेडियमका लागि प्रयोग गरिने स्थान पहुँचभन्दा धेरै टाढा छन्। त्यसैले प्यालेस्टाइनको टोली अहिले साउदी अरेबियामा प्रशिक्षण गरिरहेको छ। प्यालेस्टाइन फुटबल टोलीका प्रशिक्षक मकरम दबौबले कुनै पनि खेलाडीको ध्यान खेलमा केन्द्रित हुन नसकेको बताए।

‘प्रशिक्षण गर्नुभन्दा अगाडि पछाडि हरेक खेलाडी समाचारहरू हेर्ने गर्छन्,’ प्यालेस्टाइनका प्रशिक्षक मकरम दबौबले भने। कतारले आगामी जनवरी १२ देखि फेब्रुअरी १० सम्म एसियन कप फुटबलको आयोजना गर्दै छ। प्यालेस्टाइनले भने आफ्नो पहिलो खेल जनवरी १४ मा इरानविरुद्ध खेल्नेछ।

‘खेलाडीहरू चिन्तित छन् र आफ्नो परिवारको भावनामा हराउने गर्छन्,’ ट्युनिसियाका पूर्वखेलाडी तथा प्रशिक्षकसमेत रहेका डबौबले भने। गत वर्षको जुनमा तेस्रो पटक एसियन कपमा स्थान बनाएपछि प्यालेस्टाइन फुटबल एसोसिएसनले उत्सव मनाएको थियो।

गाजामा युद्धविरामको संकेत नदेखिएपछि खेलाडीहरूले हतासा महसुस गरिरहेका छन्। एसियन कपको विशेष तयारी गर्ने प्रयासमा भए पनि उनीहरूका लागि सहज भइरहेको छैन। ‘प्रतियोगिता हुन नसकेपछि उनीहरूमा शारीरिक, प्राविधिक र रणनीतिक रूपमा पनि समस्या देखिएको छ।

साथै मानसिक रूपमा पनि धेरै समस्या आइरहेका छन्,’ प्रशिक्षक डबौबको चिन्ता छ। हमासले इजरायलमा आक्रमण गरेयता गाजामा कुनै पनि फुटबल खेल भएको छैन। इजरायलले वेस्ट बैंक क्षेत्र पूर्ण नियन्त्रणमा लिएको छ।

धेरै खेलाडहरूले अहिले निकै सघंर्ष गर्नुपरेको छ। तीमध्ये टोलीका सदस्य मोहमौद वाडी र मोहमेद सालेहका परिवार त गाजामा नै बन्धक बने। उनीहरूका घरहरू पनि पूर्ण क्षति भएको प्रशिक्षक बताउँछन्। ‘उनीहरूले अहिले धेरै अफ्ठ्यारो परिस्थितिबाट गुज्रनुपरेको छ,’ उनले भने।

अन्य खेलाडीका आफन्तजनले पनि इजरायली आक्रमण भोग्नुपरेको छ। उनीहरू शरण खोज्न पूर्व क्षेत्र धाइरहेका छन्। संयुक्त राष्ट्रका अनुसार गाजाका ८५ प्रतिशत मानिसहरू बसाइ सर्नुपरेको उल्लेख छ। मानिस बस्ने कुनै स्थान पनि सुरक्षित नरहेको धारणा छ। इजरायलले उत्तरदेखि दक्षिणसम्म पनि आक्रमण बढाएको छ।

आक्रमणबाट अहिलेसम्म २१ हजार ९ सय ७८ जनाले ज्यान गुमाउनुपरेको छ। जसमा अधिकांश महिला र बालबालिका छन्। प्रशिक्षक डबौबले एसियन कपमा समूहचरणभन्दा माथि उक्लिन सके प्यालेस्टाइन फुटबलले त्यहाँका जनतालाई सम्मानजक रूपमा उभ्याउने धारणा राख्छन्।

‘सबैभन्दा महŒवपूर्ण पक्ष नै अन्तर्राष्ट्रिय क्षेत्रमा प्यालेस्टाइनको झन्डा फरफराउनेछ। यसले गर्दा प्यालेस्टाइनीले आफ्नो अस्तित्व देखाउनेछन्। यो खेलका क्रममा प्यालेस्टाइनीहरू पनि स्वतन्त्रता र राम्रो जीवनका लागि हकदार छन् भन्ने देखाउनेछ।’

प्यालेस्टाइन फुटबल एसोसिएसनका अध्यक्ष जिब्रिल राजुबले गाजा युद्धले विशेष रूपमा ‘खेल र युवामाथि आक्रमण गरेको बताए। उनका अनुसार अहिलेसम्म खेलका करिब एक हजार सदस्यले ज्यान गुमाएको उल्लेख गरे।

इजरायली सेनाले ओलम्पिक चार्टर उल्लंघन गर्दै प्यालेस्टाइनी खेलका क्लबहरूमाथि विशेष आक्रमण गरिरहेको उनको आरोप छ। गाजामा रहेको यार्मुक फुटबल स्टेडियमलाई इजरायली सेनाले हिरासत र सोधपुछ केन्द्रका रूपमा परिणत गरेको समेत उनको भनाइ छ। त्यसको प्रमाणका भिडियो फुटेज पनि उनले प्रस्तुत गरेका छन्।

प्यालेस्टाइनी बालबालिका सोही स्टेडियममा भित्र नियन्त्रणमा रहेको राजुबको भनाइ छ। यद्यपि, इजरायली सेनाले भने त्यो फुटेज देखिएका आतंकवादी गतिविधिमा संलग्नको आशंकामा त्यहाँ रहेको दाबी गरेको छ। त्यो रंगशाला सन् १९३९ मा बनेको हो।

राजुबका अनुसार प्यालेस्टाइनको यो सबैभन्दा पुराना रंगशाला पनि हो। रंगशालाभित्र अपराध गरिरहेको प्रमाणसहित अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र फिफाको सहयोगका लागि पत्रसमेत फुटबल संघले पठाइसकेको छ। -एफपी

प्रकाशित: १८ पुस २०८० ००:३६ बुधबार

कतार एसियन कप २०२३ प्यालेस्टाइन गाजा युद्ध दक्षिण इजरायल स्टेडियम चिहान मकरम दबौब