उत्कृष्ट बलिङप्रेरित कोसी प्रदेश सोमबार प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।
संगीता राई, सबनम राई र एलिसा खडियाले विकेटसँगै किफायती बलिङ गरेपछि कोसीले दोस्रो क्वालिफायरमा सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो।
कोसीले उपाधिका लागि बुधबार विभागीय टोली एपिएफसँग प्रतिस्पर्धा गर्नेछ। कोसीले जारी प्रतियोगितामा तेस्रो पटक एपिएफविरुद्ध खेल्न लागेको हो। संघीय संरचनापछि कोसी लगातार चौथो पटक यो प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। तर, कोसीले एपिएफलाई नै हराउँदै एक पटक मात्र उपाधि उचाल्न सकेको छ।
कोसीले यसअघि लिग र पहिलो क्वालिफायरमा एपिएफसँग हार सामना गर्नुपरेको थियो। तर, फाइनलमा भने उपाधि जित्ने लक्ष्यका साथ कोसी मैदान उत्रनेछ। कोसीले जारी प्रतियोगितामा दोस्रो पटक सुदूरपश्चिमलाई हराउँदै फाइनलमा स्थान बनाएको हो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा कोसीलाई जित दिलाउन संगीता, सबनम र एलिसाले उत्कृष्ट बलिङ बलिङ गरे। चार ओभर बलिङ गरेकी संगीताले दुई विकेट लिँदा १३ रन मात्र खर्चिइन्। एलिसाले तीन ओभर बलिङ गर्दा एक विकेट लिँदै ७ रन मात्र दिइन्।
सबनमले चार ओभरमा ११ रन मात्र खर्चेर एक विकेट नै लिइन्। कोसीको कसिलो बलिङसामु सुदूरपश्चिमले ८९ रनको सामान्य लक्ष्य मात्र दियो। जबाफमा कोसीले १३ ओभरमा मात्र एक विकेटको क्षतिमा ४२ बलअगावै लक्ष्य पूरा गर्यो।
ओपनरद्वय काजल श्रेष्ठ र रुबिना क्षेत्रीले पहिलो विकेटका ५९ रनको साझेदारी गर्दै जितको आधार तय गरे।काजल श्रेष्ठले ३८ रनमा अविजित रहँदा कप्तानसमेत रहेकी रुबिना ३७ रनमा आउट हुन पुगिन्।
रुबिनाले २३ बलमा सात चौका र एक छक्का हिर्काइन्। काजलको इनिङमा भने सात चौका मात्र रह्यो।
अप्सरी बेगमले १२ रनको अविजित इनिङ खेल्दै काजललाई साथ दिइन्। सुदूरपश्चिमका लागि एक मात्र विकेट लक्ष्मी साउदले लिइन्। कविता जोशीले तीन ओभरमा किफायती बलिङ गरे पनि विकेटविहीन रहिन्। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८८ रनको योगफल बनायो।
सुदूरपश्चिमका तीन ब्याटरले मात्र दोहोरो अंकमा रन बनाउन सके। सम्झना खड्काले २५ रन, बिन्दु रावलले १७ र कविता जोशीले १५ रन बनाउनुबाहेक अन्य ब्याटर लामो समय क्रिजमा टिक्नै सकेनन्।
कोसीको बलिङमा निशा साहले पनि एक विकेट लिइन्। कप्तान रुबिनाले चार ओभरमा एक मेडन राख्दा १३ रन मात्र खर्चिए पनि विकेट लिन सकिनन्।
पहिलो क्वालिफायरमा कोसी एपिएफसँग ५२ रनले स्तब्ध बनेको थियो। सुदूरपश्चिमले भने एलिमिनेटमा बाग्मती प्रदेशमाथि ९ विकेटको जितसहित कोसीसँग भेट पक्का गरेको थियो।
तर, गत वर्षको विजेता सदूरपश्चिम यस पटक भने फाइनल पुग्न असफल रह्यो। सुदूरपश्चिमले कोसीलाई नै हराउँदै पहिलो पटक यो उपाधि जितेको थियो। यस प्रतियोगिताको सबैभन्दा सफल टोली एपिएफले पाँचौं पटक उपाधि उचालेको छ।
प्रकाशित: १७ पुस २०८० ०२:२७ मंगलबार