खेल

प्रिन्स र रसिलालाई उपाधि

युवा खेलाडी प्रिन्स दाहाल र रसिला महर्जनले पोखरामा आयोजित दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन्।

कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सञ्चालित दोस्रो राष्ट्रिय तथा प्रथम पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधिसहित दुवैले जनही ५० हजार प्राप्त गरे।

प्रिन्स दाहालले त्रिभुवन आर्मी क्लबका खेलाडी प्रफुल महर्जनलाई २१–१७, २१–११ को सोझो सेटमा पराजित गरे। उनले गत वर्ष पोखरामै आयोजित राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका थिए।

प्रतियोगितामा नेपाल पुलिस क्लबका विष्णु कटुवाल र एपिएफ क्लबका क्षितिज खनाल तेस्रो भए। उपविजेता प्रफुलले नगद २० हजार तथा विष्णु र क्षितिजले ट्रफी, मेडल र प्रमाणपत्रका साथमा जनही १० हजार रूपैयाँ हात पारे।

महिला सिंगल्सको फाइनलमा नेपाल १ र्‍याङ्किङ त्रिभुवन आर्मी क्लबकी रसिलाले आर्मीकै अनुमाया राईलाई २१–१२, २१–१५ ले हराइन्।

त्यसै गरी प्रतियोगितामा आर्मीकी अमिता गिरी र कस्तुरी कलेजकी सीमा राजवंशी तेस्रो भए। उपविजेता अनुमायाले नगद २० हजार तथा अमिता र सीमाले जनही १० हजार रूपैयाँ हात पारे।

यु–१७ तर्फ एपिएफका अरूण अधिकारीले आर्मीका अभय महरालाई २१–१३, २१–१४ को सोझो सेटमा पराजित गरी प्रथम भए भने आर्मीका कविर केसी र सोही क्लबका सुविन श्रेष्ठ तेस्रो भए।

गल्र्स यु–१७ तर्फ कास्कीकी दिलाशा रानाले आर्मीकी रिहाना शेरचनलाई २१–१५ र २१–१७ को सोझो सेटमा पराजित गरी प्रथम हुँदा सुर्खेतकी दीपिका रोकाया र एमबिएफकी निभा राई तेस्रो भए।

प्रतियोगिता अन्तर्गत नै मेन्स डबल्स फाइनलमा एपिएफका प्रिन्स दाहाल र विजित थापामगरको जोडी सोही क्लबका क्षितिज खनाल देवराज रानालाई २१–१८, २१–१७ को सोझो सेटमा पराजित गरी प्रथम भयो तेस्रो स्थान एपिएफको जोडी प्रनिशसिंह ठकुरी र सुजन थापा तथा नेपाल पुलिस क्लबका जीवन आचार्य र विष्णु कटुवालको जोडीले प्राप्त गरे।

प्रतियोगिताको कुल १२ इभेन्टमा ४८ क्लब तथा जिल्लाका गरी ३ सयभन्दा बढी महिला तथा पुरुष खेलाडीको सहभागिता थियो। 

प्रकाशित: १६ पुस २०८० ०६:१९ सोमबार

प्रिन्स र रसिलालाई उपाधि दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता