हेटौंडाको टिसिएन चौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरीको एपिएफ क्लब र चन्द्रागिरी नगरपालिका न्यू डाइमण्ड क्लब भिड्ने भएका छन्।
सिंगल राउण्ड रोविनको आधारमा सञ्चालन भएको प्रतियोगिताको उपाधिका लागि यी दुई टिम भिड्ने भएका हुन्। एपिएफ ११ अंकका साथ समूह विजेता र न्यू डाइमण्ड १० अंकसहित समूह उपविजेता हुँदै फाइनलमा प्रवेश गरेका हुन्।
समूह चरणको अन्तिम खेलमा न्यू डाइमण्डले त्रिभुवन आर्मीलाई र एपिएफले नेपाल पुलिस क्लबलाई हराएको हो। न्यू डाइमण्डले आर्मीलाई १६–२५, २५–१९, २५–१६ र २५–२३ को सेटमा हराएको हो। खेलको प्लेयर अफ द म्याच न्यू डाइमण्डकी जेनिसा विक घोषित भइन्।
यस्तै फाइनल प्रवेश गर्ने क्रममा एपिएफले प्रहरीलाई २३–२५, २५–१९, २५–२१ र २५–१६ को सेटमा हराएको हो। खेलको प्लेयर अफ द म्याच एपिएफकी निरुता ठगुन्ना घोषित भइन्।
फाइनल खेल सोमबार दिउँसो २ बजेबाट हुने आयोजकले जानकारी दिएको छ। हेटौंडामा सञ्चालन भइरहेको बृहत् खेलकुद तथा व्यापार महोत्सवमा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता भएको हो।
प्रतियोगितामा चन्द्रागिरी नगरपालिका न्यू डाइमण्ड क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र मकवानपुरको छहारी युवा सेवा समाजको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।
यस्तै सेमिफाइनलबाट बाहिरिएका दुई टिमले नगद ५०/५० हजार रुपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा विधागत उत्कृष्ट खेलाडीहरुले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजक मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष वसन्तकुमार सिटौलाले जानकारी दिए।
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भइरहेको खेलकुद तथा व्यापार महोत्सवमा दैनिक राष्ट्रिय, प्रदेश तथा स्थानीय विभिन्न खेलकुद प्रतियोगिता आयोजना भइरहेको छ। महोत्सव अवधिभर १३ वटा विधामा खेल सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।
प्रकाशित: १५ पुस २०८० १४:४१ आइतबार