खेल

आर्मीलाई मिक्स रिलेमा स्वर्ण

आर्मीका सिर्जना पाण्डे, गजेन्द्र राई, पूर्णलक्ष्मी न्यौपाने र मुकेश पालको टोलीले राष्ट्रिय मिक्स रिले दौडमा शनिबार स्वर्ण जितेको छ।

कीर्तिमानी धावक वैकुण्ठ मानन्धरको सम्मानमा एथलेटिक्स परिवार नेपालद्वारा आयोजित प्रतियोगिताको निर्धारित १० किलोमिटर दूरी आर्मीले ३२ मिनेट ५८.८६ सेकेन्डमा पूरा गर्‍यो।

एक टोलीबाट समान २-२ पुरुष-महिला गरी खेलाडी दौडेका थिए। प्रत्येक खेलाडीले २.५ किलोटिमर तय गर्नुपर्ने थियो।

नेपाल प्रहरीका राममाया बुढा, सन्तोषनाथ योगी, सुमित्रा चौधरी र नागेश्वर अहिर ३३ मिनेट ४५.५६ सेकेन्ड समयमा दौड पूरा गर्दै दोस्रा भए।

३४ मिनेट २२.७३ सेकेन्डमा दौड पूरा गरेका फुलमती राना, सञ्जीव नेपाली, सीमा चौधरी र राजेन्द्र तामाङ सम्मिलित एपिएफको टोली तेस्रो भयो। शीर्ष ३ स्थान हात पार्नेले क्रमशः ३२ हजार, २४ हजार र १६ हजार नगद पुरस्कार पाए।

आर्मीका गजेन्द्र पुरुष खुला ५ किलोमिटर दौडमा पनि स्वर्ण जित्न सफल भए। उनले निर्धारित दूरी १६ मिनेट १०.९२ सेकेन्डमा तय गरे। रजत र कांस्य पनि आर्मीकै खेलाडीले जिते।

मुकेश पाल १६ मिनेट १२.४२ सेकेन्ड समयमा दोस्रो तथा सञ्जय श्रेष्ठ १६ मिनेट १६.८३ सेकेन्ड समयमा तेस्रो बने। सो स्पर्धाको महिलामा प्रहरीकी राममाया बुढा पहिलो भइन्।

राममायाले १८ मिनेट ५६.३५ सेकेन्ड समय निकालिन्। आर्मीकी पूर्णलक्ष्मी (१९ मिनेट १५.४८ सेकेन्ड) दोस्रो तथा आर्मीकै सिर्जना (१९ मिनेट ४०.८५ सेकेन्ड) तेस्रो भए। पुरुष-महिला दुवैमा पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार नगद पुरस्कार हात पारे।

खुलासहित मिक्स रिलेमा चौथोदेखि दसौं स्थानमा आउनेलाई नगदबाट पुरस्कृत गरिएको थियो। भेट्रान पुरुष ४१ देखि ५० वर्ष उमेरसमूहको ५ किलोटिमर दौडमा च्यासलका राकेश महर्जन पहिलो, चापागाउँका नारायण देशार दोस्रो र काठमाडौंका मनिनकुमार महर्जन तेस्रो बने।

पुरुष ५१ वर्षमाथि ५ किलोमिटर दौडमा कीर्तिपुरका धर्म महर्जनले स्वर्ण, दाङका भीमबहादुर गुरुङले रजत र काठमाडौंका रेवतबहादुर दाहालले कांस्य हात पारे।

भेट्रान महिला ३५ वर्षमाथि ५ किलोमिटर दौडमा एपिएफकी कृष्णेश्वरी सिन्तकला पहिलो, थानकोटकी शर्मिला बस्नेत दोस्रो र बालाजुकी विनीता महर्जन तेस्रो भए। 

विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

सो अवसरमा एथलेटिक्स परिवार नेपालले दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धरलाई १ लाख ११ हजार १ सय ११ रूपैयाँ नगदसहित प्रशंसा पत्रबाट सम्मान गरेको थियो।

त्यसै अवसरमा एसियाली क्रसकन्ट्री एथलेटिक्सका स्वर्ण विजेता दीपक अधिकारीलाई पनि एथलेटिक्स परिवार नेपाल र वैकुण्ठ मानन्धर खेलकुद नेपालले समान १०-१० हजार नगदसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरेको थियो।

प्रकाशित: १५ पुस २०८० ०१:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App