खेल

राष्ट्रिय टोलीका खेलाडी वडा र टोल कप खेल्दै

वडास्तरीय गोधुली कपमा वडा १७ बाट खेल्दै र्र्चिर्चत खेलाडी प्रकाश बुढाथोकी । तस्बिर : रोहित राई


धरान – पुसको अन्तिम साता वडास्तरीय गोधूलि कपको फाइनलमा हाल राष्ट्रिय फुटबल टोलीमा समावेश खेलाडी हेमन्त थापामगर वडा नम्बर १७ बाट खेल्दै थिए । उनीसँगै मैदानमा थिए, चर्चित खेलाडी प्रकाश बुढाथोकी, ए डिभिजन क्लबबाट लिग खेल्ने सुरज विक, मनीष गुरुङ र हेमु लिम्बु । यी खेलाडीहरू प्रतियोगिताभरि वडा १७ र ८ बाट खेले ।

ग्रास रुटमा नै फुटबलको नयाँ प्रतिभा पहिचान गर्न वडास्तरमा हुने गोधूलि कपमा ए डिभिजन लिग खेलिसकेका खेलाडी सहभागी भएको यो पहिलो भने थिएन । विगतमा पनि कति खेलाडी गृहनगरमा आग्रह टार्न नसकेर खेल्न आउन्थे । तर, अहिलेको परिस्थित बिलकुल फरक छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व विवादले विगत तीन वर्षदेखि ए डिभिजन लिग हुन सकेको छैन । २०७२ मा होम एन्ड अवेको आधारमा राष्ट्रिय लिग भएपछि त्यो पनि रोकिएको छ । यसले फुटबलमा भविष्य खोजिरहेका युवा खेलाडीहरू प्रत्यक्ष मर्कामा छन् । फिट रहन र जीवन निर्वाहका लागि पनि ती खेलाडी मोफसलका विभिन्न वडा, टोलकप खेल्न बाध्य छन् ।

मैदानबाहिर बसेर राष्ट्रिय टोलीमा रहेका उदीयमान युवा खेलाडी वडास्तरीय प्रतियोगिता खेलेको दुःख मान्दै हेरिरहेका थिए, पूर्वखेलाडी सागर घिमिरे । त्यसप्रति उनले टिप्पणी गर्दै भने, ‘ए डिभिजन लिग नहुनु फुटबलका लागि दुर्भाग्य हो । लिग नहुँदा खेलाडीलाई क्लबहरूले राख्दैनन्, अनि टोल कप, वडा कप जहीं गएर पनि खेल्नुपर्ने बाध्यता छ ।’ लिग नहुँदा प्रतिभावान् खेलाडी जन्मन नसक्ने र राष्ट्रिय टोलीको प्रदर्शनमा पनि यसको नकारात्मक असर पर्ने पूर्वखेलाडी घिमिरे बताउँछन् । ‘लिग हुँदा पो ३, ४ महिना निरन्तर प्रशिक्षण हुन्छ, राष्ट्रिय टिममा प्रतिभावान् खेलाडी रोज्न पाइन्छ, र रिजल्ट पनि राम्रो आउँछ,’ फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, ब्वाइज युनियन, बिग्रेड ब्वाइजबाट थुप्रै सिजन लिग खेलेका घिमिरेले भने, ‘नयाँ खेलाडीले पनि अवसर पाउँछ, अहिले नेपालको खेल खस्कनुमा मुख्य यही कारण हो ।’

नेपाललाई २२ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जिताउँदा टोलीका महत्वपूर्ण सदस्य थिए, प्रकाश बुढाथोकी । उनी अहिले राष्ट्रिय टोलीमा छैनन् । तर, वडा र टोल कप खेल्नुपर्ने गरी उनको प्रदर्शन खस्किएको पनि होइन । फुटबलमा भविष्य देखेका बुढाथोकी पनि लिग नहुँदा बाध्यताले वडास्तरीय प्रतियोगिता खेल्नुपरेको दुःखेसो पोख्छन् । ‘हाम्रा लागि सबथोक फुटबल हो । खेलेर नै आफू र परिवार पाल्नुपर्छ, फुटबल नहँुदा कहाँबाट पैसा ल्याउने ? हामीलाई ठूलो आर्थिक संकट छ,’ उनले पीडा पोखे, ‘मलाई मात्र होइन, सबैलाई यस्तै हो । सानोतिनो प्रतियोगिता नखेली होइन्न, फिट पनि रहिरहनुपर्छ ।’

बुढाथोकीका अनुसार ए डिभिजन लिग खेल्ने ३ सयभन्दा बढी खेलाडीहरू अहिले आर्थिक समस्यामा छन् । लिग नहँुदा क्लबहरूले खेलाडीलाई अनुबन्धित गर्दैनन् । खेलाडीका मुख्य आर्थिक स्रोत नै क्लबहरू हुन् । क्लबहरूले पनि लिग हुने सुनिश्चित नहुँदा खेलाडीहरू अनुबन्धित गरेर आर्थिक भार खप्ने जोखिम मोल्दैनन् । जसको असर खेलाडी र समग्र नेपाली फुटबल जगत्लाई नै पर्छ । बुढाथोकी थप्छन्, ‘खेलाडीको क्वालिटी र स्टामिना देखिँदैन । अनि, कुन आधारमा राष्ट्रिय टिम बनाउने ? त्यसैले लिग नरोकियोस्, निरन्तर होस् र खेलाडीहरूले व्यावसायिक हुन पाइयोस् ।’

भ्रष्टाचारको आरोपमा फिफाबाट प्रतिबन्धमा परेपछि एन्फा तत्कालीन अध्यक्ष गणेश थापाको बहिर्गमन भयो । त्यसपछि गत वर्ष नेतृत्वमा नरेन्द्र श्रेष्ठ चुनिए । नयाँ नेतृत्व आए पनि नेपाली फुटबल जगत्को विवाद र समस्या भने ज्यँुका त्युँ नै छ । यति बेला एन्फा पुनः नेतृत्व चयनको चटारोमा भएकाले खेलाडीहरूको समस्याप्रति कसैको ध्यान पुगेको छैन ।

एन्फाका केन्द्रीय उपाध्यक्ष किशोर राई विवादले नियमित लिग हुन नसकेको र यसले खेलाडीहरूमा ठूलो असर पुगेको स्वीकार गर्छन् । नयाँ नेतृत्व आए पनि समस्या समाधान नभएको भन्दै उनले एन्फाको पुनर्संरचना आवश्यक भएको देख्छन् । ‘खेलाडीहरू बाँच्नका लागि वडा, टोलकप खेल्नुपरिरहेको छ, यसको जिम्मेवारी एन्फा नेतृत्वले लिनुपर्छ । लिग भएको छैन, फुटबलको स्तर पनि घटिरहेको छ,’ उपाध्यक्ष राईले भने, ‘खेलाडीहरूमा निराशा छ, र खेल्नुपर्ने बाध्यता पनि छ । अबको नेतृत्व फुटबलको हित  रक्षा गर्ने आउनुपर्छ ।’

 


 

 वडास्तरीय गोधुली कपमा वडा १७ बाट खेल्दै र्र्चिर्चत खेलाडी प्रकाश बुढाथोकी ।

तस्बिर : रोहित राई

‘हाम्रा लागि सबथोक फुटबल हो । खेलेर नै आफू र परिवार पाल्नुपर्छ, फुटबल नहुँदा कहाँबाट पैसा ल्याउने ? हामीलाई ठूलो आर्थिक संकट छ ।’

 

प्रकाशित: २४ माघ २०७४ ०३:२५ बुधबार

राष्ट्रिय टोलीका खेलाडी वडा टोल कप खेल्दै