खेल

हेटौंडामा राष्ट्रिय महिला भलिबल सुरु

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडामा सञ्चालन भइरहेको बृहत् खेलकुद तथा व्यापार महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ।

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा शुक्रबारबाट राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको हो।

प्रतियोगितामा न्यु डाइमन्ड क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र मकवानपुरको छहारी युवा सेवा समाजको सहभागिता रहेको छ।

लिग कम नकाउटका आधारमा १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख रूपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।यस्तै विधागत उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ।

शुक्रबार भएको उद्घाटन खेलमा एपिएफले विजय यात्रा सुरु गरेको छ। एपिएफले त्रिभुवन आर्मी क्लबलाई २९–२७, २५–१९ र २५–१८ को सेटमा पराजित गरेको हो। खेलको प्लेयर अफ दी म्याच एपिएफकी सरस्वती चौधरी घोषित भइन्।

हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले प्रतियोगिताको उद्घाटन गरेका हुन्। यस प्रतियोगितालाई मकवानपुरका स्थानीय तहसहित हेटौंडा उपमहानगरको विभिन्न वडा र अन्य संघसंस्था तथा व्यक्तिले सहयोग गरेका छन्।

प्रकाशित: १४ पुस २०८० ०१:३४ शनिबार

बृहत् खेलकुद तथा व्यापार महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगिता मकवानपुर जिल्ला खेलकुद विकास समिति केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान