खेल

प्रणवको विजयी सुरुआत

काठमाडौं– नेपाल आइटिएफ जुनियर यु–१८ सर्किट वान टेनिस प्रतियोगिताको पहिलो दिन सोमबार चार खेलाडी खेलाडीले जित हासिल गरेका छन् ।

प्रतियोगिताको विजयी सुरुआत गर्ने क्रममा प्रणव खनालले भारतका आदित्य चोपरामाथि ३–६, ६–३, ६–१ को नतिजामा सफलता हासिल गरे भने महिलातर्फका खेलमा माहिका राणा, इरा मेहेर्निशा रावत र प्रेरणा कोइरालाले पनि विजयी सुरुआत गरे ।माहिकाले भारतकी हृदया शाहमाथि ६–१, ६–० को सोझो सेटमा जित हासिल गर्दा इराले पनि भारतकै अशप्रीत कौर बाज्वालाई ६–१, ७–५ को नतिजामा निराश पारिन् ।

प्रेरणाले भारतीय प्रतिद्वन्द्वीलाई निराश पार्ने क्रममा गौरी अग्रवालमाथि ३–६, ६–३, ६–० को नतिजा निकालिन् ।अन्य खेलमा नेपालका निसान श्रेष्ठ, इभ्याक जोशी, अभिलाशा विष्ट, प्रकृति श्रेष्ठ, सलोनी तामाङ र मायंका राणाले भने पहिलो चरणमै निराशा भोगे ।

निशानले भारतका ऋषभ अग्रवाललाई ६–३, ६–१ को नतिजा सुम्पँदा इभ्याक भारतकै वंश भागतानीसँग ६–०, ६–१ को नतिजामा पराजित भए । यसै गरी अभिलाशा फिलिपिन्सका मा कार्मेन्सिटा इसाबेला कार्लोससँग ४–६, ६–२, ६–३ को नतिजामा पराजित हुँदा प्रकृति भारतकै प्रिंकल सिंहसँग ६–०, ६–० तथा सलोनी हङकङकी चुई केई लियुङसँग ६–१, ६–० को सोझो सेटमा निराश भए । मायंका भारतकी स्मृति बासिनसँग ६–४, ५–७, ६–२ को नतिजामा पराजित भएकी थिइन् ।

प्रकाशित: २३ माघ २०७४ ०३:४८ मंगलबार

प्रणवको सुरुआत