खेल

गतिशिल बन्दै भलिबल

काठमाडौं – ठूला प्रतियोगिताअघि बढीमा २ महिना प्रशिक्षण गरेर अन्तर्राष्ट्रिय मन्चमा उत्रनु नेपाली भलिबल खेलाडीको नियति हो । तर, आधिकारिक प्रतियोगिता नभएको अवस्थामा पनि राष्ट्रिय टोली मैत्रीपूर्ण खेलमा व्यस्त हुनु आफैमा सुखद पक्ष हो, यसैको बहानामा खेलाडीले नियमित प्रशिक्षण पाएको सन्दर्भमा ।

पछिल्लो समय नेपाली पुरुष भलिबल टोलीले पर्याप्त मात्रामा मैत्रीपूर्ण खेल र त्यसैको बहानामा नियमित प्रशिक्षणको मौका पाइरहेको छ । तीन मैत्रीपूर्ण खेलका लागि हङकङ र मकाउको एकहप्ते भ्रमण सकेर टोली भर्खरै देश फर्किएको छ । नियमित अभ्यासबाट खारिएको टोलीले आफूसरहकै विपक्षी पाउँदा भ्रमणका तीनवटै मैत्रीपूर्ण खेलमा जित हासिल गर्यो ।

टोलीले पछिल्लो ६ महिनामा खेलेका मैत्रीपूर्ण खेलको संख्या ७ पुगिसकेको छ । डेनमार्कको भिलवोभा क्लब, बंगलादेशको राष्ट्रिय टोली, हङकङ र मकाउसँग खेलेको नेपालले नतिजा पनि सुखद निकालेको छ । नेपाली पुरुष भलिबल टोली अब छिट्टै मोरिससमा प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि जाँदै छ । त्यस लगत्तै नेपालले बंगलादेशमा हुने एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिता खेल्नेछ । प्रशिक्षण नै नगरी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुपर्ने नेपाली खेलाडीको नियति कम्तीमा अहिलेलाई फेरिएको छ । नेपाल सरकारबाट राष्ट्रिय खेलको मान्यता पाएलगत्तै जुरमुराएको भलिबलको लगातार अन्तर्राष्ट्रिय स्पर्धामा परीक्षा भइरहेको छ ।

गन्तव्य हङकङ
नियमित प्रशिक्षण नपाउनुबाहेक नेपाली खेलाडीले सधैं दुखेसो पोख्ने अर्को पक्ष हो, कमजोर आर्थिक स्थिति । ‘खेलेर बाँच्ने अवस्था छैन । सरकारले खेलाडीको भविष्य सुनिश्चित गर्नुपर्छ,’ प्रायजसो खेलकर्मीको नियमित गुनासो हो यो । नियमित घरेलु प्रतियोगिता नहुने र नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता (दक्षिण एसियली खेलकुद, एसियन च्याम्पियनसिप) जस्ता खेलको नियमितता तथा सहभागिता सधंै अन्योलमा हुने हुँदा खेलाडीको खेल्न नपाउनुका साथै आय स्रोत कमजोर बन्ने गरेको साँचो हो ।
आगोको धर्म पोल्नु हो । आगोले पोलेन भने त्यसको अर्थ हुँदैन । त्यस्तै खेलाडीको धर्म खेल्नु हो । खेलाडीले नियमित खेल्न पाउनुपर्छ । तर नियमित प्रतियोगिता नहुँदा खेलाडीले आफ्नो प्रतिभा देखाउन पाएका छैनन् भने आय स्रोत पनि कमजोर बन्ने गरेको छ ।

पछिल्लो समय क्रिकेट र फुटबलमा भएका घरेलु प्रतियोगिता (निजी क्षेत्रबाट) बाट खेलाडीले धेरथोर आम्दानी गर्न थालेका छन् । केही खेलाडी विदेशी क्लबसँग अनुबन्धित भएका छन् । फुटबल र क्रिकेटका खेलाडी अन्य देशमा गएजस्तै भलिबल खेलाडीका लागि हङकङ एक राम्रो गन्तव्य हुनसक्छ, आर्थिक पक्ष उकास्न ।

हङकङमा रहेका नेपालीहरूले बनाएका थुप्रै क्लब छन् । भलिबल संघका पूर्वमहासचिव तथा पूर्वखेलाडी जयनारायण चोधरीकै भनाइ मान्ने हो भने पनि हङकङमा नेपालीहरुको १९÷२० क्लब छन् र त्यहाँ वर्षभर नियमित रूपमा थुप्रै प्रतियोगिता आयोजना हुन्छन् । नेपालीहरूले आयोजना गर्ने त्यस्ता प्रतियोगिता खेल्नका लागि बिस्तारै नेपालबाट खेलाडी लैजाने क्रम बढ्दो छ । नेपाली राष्ट्रिय टोलीका स्पाइकर मानबहादुर श्रेष्ठ, कुलबहादुर थापा, दानबहादुर भट्ट, कप्तान इम रानामगरलगायतका खेलाडी पहिले पनि त्यहाँ गएर खेलिसकेका छन् । एक पटक जाादा एक हप्ताको बसाइमा खेलाडीले कम्तीमा पनि ५, ६ लाख रुपैयाँ नगद लिएर फर्कने गर्छन् । यस अर्थमा राष्ट्रिय टोलीको हङकङ भ्रमणले नयाँ खेलाडीलाई पनि एक्सपोज गर्ने काम गरेको छ ।
संघबीचको सम्बन्ध
हङकङ र मकाउ भ्रमणमा नेपाल र त्यहाँको भलिबल संघबीच सहयोग आदानप्रदान गर्ने समहति बनेको छ । भ्रमणकै क्रममा नेपाल भलिबल संघका पदाधिकारीले हङकङ भलिबल संघका पदाधिकारीलाई भेटेका थिए । औपचारिक भेटमा दुई देशका प्रशिक्षकबीच अनुभव आदानप्रदान कार्यक्रम गर्ने मौखिक सहमति भएको छ । उक्त मौखिक सहमतिलाई छिट्टै सम्झैतापत्रमा हस्ताक्षर गर्ने नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताएका छन् । प्राविधिक रूपमा धेरै फड्को मारेको हङकङ र नेपालबीच उक्त सम्झैता भए नेपालले प्रविधिक सहयोग पनि पाउने सम्भावना बलियो छ । नभए पनि त्यसका लागि ढोका खुलेको छ ।

हङकङबाटै मकाउ प्रस्थान गरेको नेपाली टोलीलाई त्यहाँको भलिबल संघले रात्रिभोजसहित स्वागत गरेको थियो । त्यस क्रममा भएको अनौपचारिक छलफलमा सहयोग आदानप्रदान गर्नुका साथै दुई देशबीच थप मैत्रीपूर्ण खेल खेल्ने समहति बनेको छ । भेटका क्रममा कुरा भएअनुसार काम होला÷नहोला तर दुई संघबीच संवादको ढोका भने पक्कै खुलेको छ । जसले आगामी दिनमा संगै अघि बढ्न र सहयोग आदान प्रदानमा भने पक्कै मद्दत पुग्नेछ ।

नयाँ खेलाडीले पाएनन् मौका
मैत्रीपूर्ण खेलहरूले टोलीको मनोबल बढाउन सहयोग गर्छ । खेलाडीलाई ऊर्जा दिन्छ । कमी कमजोरी सच्याउने मौका दिन्छ । नयाँ खेलाडी आउने बाटो खुल्छ । त्यस अर्थमा हङकङ र मकाउ भ्रमणले नेपाली खेलाडीको मनोबल बढाउन महत्वपूर्ण भूमिका खेल्यो । त्यसमा दुई मत छैन । तर मैत्रीपूर्ण खेलमा नयाँ खेलाडीलाई मौका दिने र नयाँ खेलाडीको प्रतिभा निखार्ने मौका भने नेपाली भलिबलले गुमायो । यस मानेमा हङकङ र मकाउ भ्रमणमा नेपाली टोली चुक्यो ।

एक वर्षअघि माल्दिभ्समा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिता खेलेका खेलाडीलाई हङकङ र मकाउ भ्रमणमा स्थान दिइयो । नयाँ अनुहार पर्न सकेनन् । हङकङको स्तर नेपाली टोलीसरह नै भएता पनि मकाउको स्तर धेरै तल थियो । जुन नतिजामा पनि देखिएको छ । मकाउको टोली कमजोर थियो भन्नेमा नेपालका प्रशिक्षकद्वय वीरेन्द्रप्रसाद चौधरी र जगदीश भट्ट बेखबर थिएनन् । त्यस्तो अवस्था नेपालले नयाँ खेलाडीलाई मौका दिनुपथ्र्यो । तर त्यो हुन सकेन, भएन ।

‘हामी कुनै आधिकारिक प्रतियोगिता खेल्दै थिएनौं । त्यसैले कुनै पदक जित्ने हाम्रो लक्ष्य थिएन,’ नेपाली भलिबल टोलीका कप्तान इम रानामगरले भने, ‘त्यसैले नयाँ खेलाडीलाई मौका दिनुपर्छ भनेर मैले भनेको हो । तर समय अभावका कारणले नयाँ खेलाडी छनोट हुन नसक्ने भन्ने कुरा आयो । एभिसी खेल्दा जुन टोली हो त्यही टोलीलाई यस भ्रमणमा समावेश गरिएको थियो । बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल्दाका खेलाडीलाई राखांै भन्दा पनि त्यसो हुन सकेन ।’

हुन त प्रशिक्षक जगदीश भट्टले एभिसी सेन्ट्रल जोनमा कांस्य पदक जितेको नेपाली टोलीलाई हङकङमा सम्मान कार्यक्रम रहेको र त्यसै अवसरमा मैत्रीपूर्ण खेल खेल्न लागेको बताएका थिए । तर, हङकङमा समान्य अतिथि सत्कारबाहेक कुनै विशेष सम्मान कार्यक्रम भएन ।फुटबल र क्रिकेटका खेलाडी अन्य देशमा गएजस्तै भलिबल खेलाडीका लागि हङकङ एक राम्रो गन्तव्य हुन सक्छ ।

प्रकाशित: २३ माघ २०७४ ०३:२० मंगलबार

गतिशिल बन्दै भलिबल