खेल

लमजुङमा ३१ औँ त्रिवेणी कप सुरु

फाइल तस्बिर: आशु बि गुरुङ।

गण्डकी प्रदेश अन्तर्गत पहाडी जिल्ला लमजुङमा आजदेखि ३१ औँ राष्ट्रव्यापी फुबटल खुल्ला त्रिवेणी कप सुरु भएको छ।

त्रिवेणी युवा क्लब बेसीशहरको आयोजनामा बेसीशहर नगरपालिका–७ सहजीस्थित त्रिवेणी रङ्गशालामा प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा आयोजक क्लबका पूर्वअध्यक्ष भेषबहादुर पौडेलले खेलकुदको माध्यमबाट मुलुक समृद्ध बनाउन सकिने बताए। त्रिवेणी रङ्गशालाको स्तरोन्नति र समग्र जिल्लाको विकासका लागि आफूले भूमिका खेल्ने उनको भनाइ थियो।

पौडेलले खेलकुदको माध्यमबाट जिल्ला र देशको नाम अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सक्ने भएकाले खेलकुद क्षेत्रको विकासका लागि स्थानीय प्रदेश र सङ्घ सरकारले उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए।

बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले आफूले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गरे। उनले त्रिवेणी रङ्गशालाको स्तरोन्नतिका लागि वर्सेनी सहयोग गर्दै आइरहेको भन्दै पालिकामा बजेट कम भएकाले उल्लेखनीय काम गर्न भने नसकिएको जनाए।

क्लबका अध्यक्ष राजकुमार घिमिरेले क्लब स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष पुस १२ गतेदेखि यो प्रतियोगिता सञ्चालन गर्दै आइएको जनाए। उनका अनुसार काठमाडौँ, पोखरा, चितवन, तनहुँसहितका २१ समूहको सहभागिता रहेको छ।

खेलअवधि भर ६० हजार बढी दर्शक आउने अपेक्षा गरिएको क्लबका अध्यक्ष घिमिरेले बताए। आयोजकका अनुसार यस प्रतियोगितामा प्रथम हुनेले नगद आठ लाखसहित प्रमाणपत्र र कप प्राप्त गर्नेछन्।

दोस्रो हुनेले चार लाखसहित प्रमाण पत्र र सान्त्वना हुने दुई समूहले एक÷एक लाख र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। साथै प्रतियोगितामा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद २०/२० हजार दिइनेछ।

प्रकाशित: १२ पुस २०८० १६:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App