खेल

भक्तपुरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु

आज देखि भक्तपुरमा नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। भक्तपुर नगरपालिकाको आयोजनामा  भएको यस प्रतियोगितामा भलिबल, कबड्डी, उसु, तेक्वान्डो, एथलेटिक्स र कराँते गरी ६ वटा खेलहरू समावेश गरिएका छन्।

प्रतियोगितामा नगरभित्रका ४५ वटा विद्यालयका ७५० जना विद्यार्थीहरूको सहभागिता रहेको भक्तपुर नपाको खेलकुद समितिले जनाएको छ।पुस १३ गतेसम्म संचालन हुने यो प्रतियोगिताका खेलहरू सहिद स्मृति खेलमैदान, माहेश्वरी खेलमैदान, लिबाली कभर्ड हल र ख्वप कलेज लगायतका ठाउँमा हुनेछन। 

प्रतियोगिताको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भलिबल खेलका रेफ्री लक्ष्मीप्रसाद स्वंगमिखालाई खेल सामाग्री हस्तान्तरण गर्दै गरेका हुन।

आज विहान सहिद स्मृति खेलमैदानमा भलिबल र कबड्डी खेल भएको थियो।त्यसैगरी ,भोलि  माहेश्वरी खेलमैदानमा एथलेटिक्स र लिबाली कभर्ड हलमा तेक्वाण्डो र पुस १३ गते  ख्वप कलेजमा कराँते र लिबाली कभर्ड हलमा उसु खेलहरू हुनेछन।

उद्घाटन समारोहमा भक्तपुर नपा वडा नं १ का वडाध्यक्ष एवम् खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री र भनपा वडा न ८ का वडा सदस्य तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासी लगायतको विद्यालयका शिक्षक शिक्षिका र प्रधानध्यापकको उपस्थित रहेको थियो।

प्रकाशित: ११ पुस २०८० १६:१९ बुधबार

राष्ट्रपति रनिङ शिल्ड खेलकुद माहेश्वरी खेलमैदान ख्वप कलेज सहिद स्मृति खेलमैदान नगरव्यापी विद्यालयस्तरीय