खेल

बात्सुयीको डेब्यु सुखद


बर्लिन – मिचे बात्सुयीले दुई गोल गर्दै जर्मन बुन्डेसलिगामा ‘डेब्यु’ लाई सुखद बनाउँदा बोरुसिया डर्टमन्डले शुक्रबार कोलोग्नमाथि ३–२ को विजय हासिल  गरेको छ।

बात्सुयीले दुई दिनअघि मात्र इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीबाट लोनमा डर्टमन्डसँग अनुबन्धित भएका थिए । जनवरी सरुवाको अन्तिम दिन बुधबार गावोनका स्ट्राइकर पिरे इमेरिक औबामेयाङलाई आर्सनल पठाएपछि डर्टमन्डले उनको स्थानमा बात्सुयीलाई मे महिनासम्मका लागि अनुबन्धित गरेको हो।

‘पहिलो खेलमै गोल गर्न सफल भएँ । त्यसैले म धेरै खुसी छु । त्यो भन्दा महत्वपूर्ण टोलीको जित होे,’ बात्सुयीले भने, ‘भिन्न टोली र भिन्न लिग भएकाले पहिलो खेल निकै कठिन हुन्छ । म अझै राम्रो प्रदर्शन गर्दै टोलीको स्थान सुधार गर्नेमा विश्वस्त छु।’
३५औं मिनेटमा डर्टमन्डलाई अग्रता दिलाएका बात्सुयीले मध्यान्तर हुन एक मिनेट बाँकी हुँदा टोलीको अग्रता दोब्बर पारे पनि रेफ्रीले उक्त गोललाई अफसाइड भन्दै मान्यता दिएनन्।

६०औं  मिनेटमा सिमोन जोलरले गरेको गोलमा बोलोन खेलमा फर्किएको थियो । तर, कोलोग्नले अग्रता धेरै समय टिकाउन सकेन । बात्सुयीले व्यक्तिगत दोस्रो गोल पूरा गर्दैै डर्टमन्डलाई पुनः अग्रता दिलाए ।

७०औं मिनेटमा जर्ज मिरेले गोल गर्दै कोलोग्नलाई पुनः एक पटक खेलमा फर्काएका थिए । तर खेल सकिन ६ मिनेट बाँकी हुँदा आन्द्रे सुरेलले गोल गर्दै डर्टमन्डको जित पक्का गरेका थिए । जितपछि २१ खेलमा ३५ अंक जोडेको डर्टमन्ड दोस्रो स्थानमा उक्लिएको छ । जुन एक खेल कम खेल्दै शीर्ष स्थानमा बसेको बायर्न म्युनिखभन्दा १६ अंक कम हो । समान खेलमा मात्र १३ अंक जोडेको कोलोन २०औं स्थानमा छ।

 

प्रकाशित: २१ माघ २०७४ ०१:३९ आइतबार

बात्सुयीको डेब्यु सुखद