खेल

रामेछाप सिभिल च्याम्पियनसीपको उपाधि सुदूरपश्चिमलाई

रामेछाप – सदरमुकाम मन्थलीमा बुधबारबाट संचालन भएको रामेछाप सिभिल च्याम्पियनसीप (तेश्रो पुरुष भलिबल प्रतियोगिता) सुदूरपश्चिमान्चल जितेको छ। 

प्रतियोगिताको शनिबार भएको अन्तिम खेलमा सुदूर पश्चिमान्चल र जिल्लाको शान्तिदीप युवा क्लब भिडेका थिए। बेष्ट अफ फाइभमा खेलाइएको फाइनल खेलमा दुबै समुहले २–२ सेट जितेका थिए। खेलको पाँचौ सेट खेल्न सहमति पश्चात खेल खेलिएको भएतापनि खेलको अन्तिम अवस्थामा शान्ति दिपका खेलाडीले समयको कारणले खेल्न नसक्ने भन्दै रेफ्रिसँग प्रतिबाद गरेपछि रेफ्रिले शान्तिदिपका खेलाडीलाई पहेलो कार्ड दिएका थिए। 

अन्तिम खेलमा शान्ति दिपले पहिलो र तेस्रो सेट  २८–२६, २५–२१ र सुदूरपश्चिमले दोस्रो र चौथो सेट २५–१५, २५–१७ ले जितेका थिए। अन्तिम निर्णायक खेलमा सुदूरपश्चिमको १२ र शान्ति दिपको ९ रहँदा निर्णायक खेलका लागि ३ अंक बाँकी रहदा हार्ने डरले शान्तिदीपले बखेडा झिकेर खेलाडी मैदानबाट बाहिरिएका थिए। आयोजक र रेफ्रिले पटक पटक मैदानमा आउन आग्रह गर्दा पनि खेलाडी नमानेपछि आयोजकले खेल पूरा नहुँदै विजेता र उपविजेता घोषणा गरेको थियो। सुदूरपश्चिमका खेलाडी साँझसम्म खेललाई कुरेर मैदानमा बसेका थिए। 

शान्तिदिपका खेलाडी मैदानमा नआएपछि आयोजकले सर्वपक्षीय सल्लाहमा ७ बजेर १५ मिनेटमा सुदूरपश्चिमलाई प्रथम र शान्तिदिपलाई द्धितीय घोषणा गर्यो। 

प्रतियोगितमा मन्थली युनाइटेड समाज तेस्रो र लोकतान्त्रिक खेलकुद संघ रामेछाप चौथौ भएका छन। मन्थली युनाइटेड समाजले लोकतान्त्रिक खेलकुद संघ रामेछापसित २५–२२ को पहिलो सेट, २५–२३ को तस्रो सेट र १५–९ को पाँचौ सेट जितेर तृतीय बनेको हो। 

रामेछाप जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा सुरु भएको च्याम्पीयनसीपमा ५ विकास क्षेत्रका ५ टीम  र जिल्ला भित्रका अन्य ५ टिम गरी  १० टीमको सहभागिता रहेको थियो। 

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने टिमले शिल्ड, मेडल, प्रमाणपत्र र नगद क्रमश १ लाख ५० हजार, १ लाख, ५० हजार र ३५ हजार प्राप्त गरेका छन्। त्यसैगरी प्रतियोगिताका उतकृष्ट खेलाडीले ट्रफी र प्रमाणपत्र सहित नगद रु.१ लाख प्राप्त गरेका छन्। 

विजेतालाई प्रतिनिधिसभा रामेछापका सदस्य श्यामकुमार श्रेष्ठले पुरस्कार बितरण गरेका थिए। 

प्रकाशित: २० माघ २०७४ १६:०३ शनिबार

रामेछाप सिभिल च्याम्पियनसीपको उपाधि सुदूरपश्चिमलाई