खेल

बुढासुब्बा गोल्डकप : संकटासँग मनाङ स्तब्ध

धरान – उपाधिको दाबेदार मानिएको लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले स्तब्ध बनाउदै संकटा क्लब १० औं बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ।

धरान १६ स्थित प्रादेशिक धरान रंगशालामा शनिबार भएको उद्घाटन खेलमा विदेशी खेलाडी अर्नेष्ट टम्पको एक मात्र गोलको मद्दतले संकटा अन्तिम चारमा स्थान पक्का गर्यो। पहिलो हाफमा कुनै पनि गोल हुन नसकेको खेलमा टम्पले दोस्रो हाफको ३५ औं मिनेटमा निर्णायक गोल गरेका थिए। संकटाबाट खेलिरहेका स्थानीय खेलाडी हेमन्त थापा मगरको फ्रि किक पासलाई उनले डिबक्स भित्रबाट जाली चुमाए। विपक्षी खेलाडीहरुबाट घेरिएपनि उनले गोल गर्न भने चुकेनन्। खेलको म्यान अफ दि म्याच घोषित हुदै नगद टम्पले नगद १० हजार पनि थापे। 

खेलमा मनाङको गोलपोष्टका संकटाले तुलनात्मकरुपमा थोरै मात्र आक्रमण गरेको थियो। पहिलो हाफको ३९ औं मिनेटमा राज पौडेलको पासमा प्रकाश बुढाथोकीको प्रहार मनाङका गोलकिपर दिप कार्कीले सहजै बचाए। दोस्रो हाफको ३३ औं मिनेटमा डिबक्स नजिकबाट रुपेश केसीको प्रहार विपक्षी मनाङका खेलाडीसँग ठोक्किएर बाहिरिएको थियो। संकटाबाट खेलिरहेका हेमन्त थापा मगरसँगै चर्चित स्ट्राइकर प्रकाश बुढाथोकी र गोलकिपर विनय श्रेष्ठ पनि धराने हुन् । संकटा गत १९ औ‌ सँस्करणको उपविजेता टोली पनि हो। गत बर्ष संकटा फाइनलमा पुलिससँग सडन डेथमा उपाधिबाट बञ्चित भएको थियो।

मनाङले भने खेलमा थुप्रै अवसर पाएर पनि सदुपयोग गर्न नसक्दा पहिलो खेलमा नै पुर्णविराम लाग्यो। पहिलो हाफको २५ औं मिनेटमा कप्तान अनिल गुरुङको पासमा विसाल राईले हेड गर्दा संकटाका गोलकिपर विनय श्रेष्ठ विट भइसकेको अवस्थामा पनि कर्ण लिम्बूको प्रहार बारिहिनु मनाङको लागि दुर्भाग्य सावित भयो। त्यसअघि, १८ औं मिनेटमा सुजल श्रेष्ठले डिबक्सभित्रबाट पाएको वललाई फिनिस गर्न सकेनन्। दोस्रो हाफको ९ मिनेटमा सुजलको पासमा अनिलले हेड गरेर दिएको वललाई विसालले भलि प्रहार गरेका थिए। उनको प्रहार संकटाका गोलकिपरले बचाए। यस्तै, १७ औं मिनेटमा विसाल राईले, २२ औं र ३० औं मिनेटमा कर्ण लिम्बूको प्रयास पनि सफल भएन।

संकटाका प्रशिक्षक सल्यान खड्गीले मनाङजस्तो वलियो टिमलाई हराउदा खुशी व्यक्त गर्दै भने,‘ पहिलो खेल हो, थुप्रै क्लबका खेलाडीहरु समेटिएकोले टिमसेट भइसकेको छैन। अर्को खेल धेरै राम्रो हुन्छ।’ मनाङका प्रशिक्षक छिरिङ लोप्सनले पहिलो हाफको २५ औं मिनेटमा कर्णले गोल नगर्नु दुर्भाग्य भएको प्रतिक्रिया दिए। साथै, आफ्नो ४ जना डिफेन्सले फ्रि किकको वल क्लियर नगर्दा गोल खानुपरेको उनको भनाई थियो। आयोजकले नियमविपरीत ४० मिनेट मात्र खेल खेलाउदा पनि हारको मुख्य कारण भएको उनको आरोप थियो। 

प्रतियोगितामा आइतबार आयोजक धरान फुुटबल क्लब र भारत, कलकत्ताको दुर्गापुर स्टिल एफसिबीच हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउनेछ। 

यसैगरि, सर्वाेत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल र विभिन्न विधामा उत्कृष्ट खेलाडीले व्यक्तिगत नगद २५ हजार पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए।

प्रकाशित: २० माघ २०७४ १५:३१ शनिबार

बुढासुब्बा गोल्डकप संकटासँग मनाङ स्तब्ध