खेल

पदक जित्ने उसु खेलाडी सम्मानित

म्याग्दी – राष्ट्रियस्तरको उसु खेलमा पदक जित्ने म्याग्दीका चार खेलाडीलाई सम्मान गरिएको छ। जिल्ला उसु संघ म्याग्दीले सोमबार खेलकुद विकास समितिका एक कार्यक्रम गरी पश्चिमाञ्चल र राष्ट्रिय टोलीबाट सहभागी भई स्वर्ण र रजत पदक जित्ने खेलाडीलाई खादा, टीका लगाइदिनुका साथै र सम्मापत्रले सम्मान गरिएको हो।

सम्मानित हुनेमा स्वर्णपदक विजेता नेपाल आर्मी क्लव की विन्दु पुन, सुशिल कुमार श्रेष्ठ, र रजत पदक विजेता सुशील कार्की र सुनिल भण्डारीलाई रहेका छन्। पुनले आर्मी क्लवबाट इटहरीमा र श्रेष्ठले पश्चिमाञ्चलबाट सहभागि भएको खेलमा स्वर्ण हात पारेका थिए।

सम्मान कार्यक्रममा श्रीबक्स गुल्मपति अनिल कुमार बुढाथोकी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्य, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले सम्मान गरेको संघका सचिव विकल कँडेलले बताए।

सम्मान कार्यक्रममा बोल्ने बक्ताले राष्ट्रियस्तरको खेलमा सहभागी खेलाडीबाट विभिन्न पदक जितेर जिल्लाको नाम समेत राख्न सफल भएको बताउँदै आगामी दिनमा खेलकुद गतिविधिलाई लक्षित गरी बजेट विनियोजनमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। ‘खेलकुद क्षेत्रलाई गाउँसम्म पुऔयाउन बजेटको आवश्यकता पर्छ। ब्यक्तिगत र समान्य लगानीमा पनि खेलाडीले अन्तर्राष्ट्रियस्तरको खेलमा समेत देशलाई पदक दिलाउन सफल भएका छन्’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विश्वकर्माले भने।

सम्मान कार्यक्रममा खेलाडीले समेत आफ्नो मेहनतलाई कदर गदैं गरिएको सम्मानले आगामी दिनमा समेत थप हौसला मिलेको बताएका थिए। जिल्लामा करिब ३० जना उसुका खेलाडी रहेका छन्।

प्रकाशित: १९ माघ २०७४ ११:४९ शुक्रबार

पदक जित्ने उसु खेलाडी सम्मानित