खेल

एथलेटिक्स खेलाडी रिकजनालाई अमेरिकाबाट वार्षिक २५ हजार सहयोग

जीवनमा केही गरेर देखाउँछु भन्ने इच्छा छ भने त्यो पूरा हुन्छ भन्ने सन्देश दिएको छ एथलेटिक्स खेलाडी रिकजनाले प्राप्त गरेको आर्थिक सहयोगले।

धवलागिरी गाउँपालिका १ गुर्जा घर भई हाल अमेरिकामा सफल नेपाली व्यवसायीका रूपमा स्थापित अम्मर छन्त्यालले मंगला मावि बाबियाचौरमा कक्षा ९ मा अध्ययनरत रिकजनाको खेलकुद र शैक्षिक गतिविधिलाई गतिशीलता दिन वार्षिक २५ हजार आर्थिक सहयोग प्राप्त भएपछि यो कुरा पुष्टि भएको छ।

प्रवासमा रहेका म्याग्देलीको साझा संस्था मोना अन्तर्राष्ट्रियका निर्वतमान अध्यक्षसमेत रहेका छन्त्यालले एथलेटिक्समा जिल्लाको भविष्यका रूपमा रिकजनालाई देखेको भन्दै घोषणा गरेको सहयोग आइतबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले रिकजना र विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीलाई हस्तान्तरण गरे।

ज्याला मजदुरी गरी गुजारा चलाइरहेका आमाबुबाको कमाइले बिहान–बेलुकी पेटभर खानसमेत नसक्ने अवस्थामा एकल महिला भवानी बुढाथोकीको संरक्षकत्वमा हुर्किएकी रिकजनालाई नियमित प्राप्त हुने सहयोगले सहज भएको गाउँपालिका अध्यक्ष रोकाले बताए।

‘यो सहयोगले रिकजनाको जीवनमा ठूलो अर्थ राख्छ। राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीको सहयोग खाँचो छ’, अध्यक्ष रोकाले भने। उनले गाउँपालिकाभित्रका प्रतिभावान् खेलाडीलाई सहयोगसहित नियमित तालिमसहितका अवसरमा समेत प्राथमिकता दिने बताए।

सोही अवसरमा विद्यालयका प्रधानाध्यापक खत्रीले खेलकुद र पढाइमा रिकजना राम्रो रहेको बताए। उनले खेलकुद र शिक्षा एकअर्काका परिपूरक रहेकाले रिकजनालाई दुवैमा अब्बल बनाउने निरन्तर मेहनत गरेको बताए। उनले एथलेटिक्स, भलिबल र कबडीमा रिकजना निकै सम्भावना भएको खेलाडी भए पनि विद्यालयले एथलेटिक्समा प्राथमिकता दिएको बताए।

सोही अवसरमा रिकजनाले अप्ठेरो अवस्था देखेर सहयोग गरेकोमा खुसी लागेको बताइन्। उनले सहयोगदातालाई धन्यवाद दिँदै खेलकुद र शिक्षा क्षेत्रमा खर्च गर्ने बताइन्। पालिकास्तरमा एथलेटिक्स विधामा सर्वोत्कृष्ट खेलाडी रिकजनाले जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा एथलेटिक्स खेलका विभिन्न विधामा सानदार खेल प्रदर्शन गर्दै चार स्वर्ण पदक दिलाएकी थिइन्।

उनले गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ सिल्डअन्तर्गत पोखरा रंगशालामा एथलेथिक्सको छात्रा ३ जम्पमा स्वर्ण र ४ सय इन्टु ४ रिलेतर्फ काँस्य पदक जित्दै गण्डकी प्रदेशबाट राष्ट्रिय खेलका लागि छनोटसमेत भइन्।

पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा मंगला माविबाट ६ स्वर्ण जितेकी थिइन्। एथलेटिक्स विधामा अलराउन्ड रिकजना एथलेटिक्सतर्फ जिल्लास्तरमा सर्वोत्कृष्ट खेलाडी हुन्। एथलेटिक्समा राष्ट्रियस्तरको खेलसम्म पुगेकी रिकजनाको सपना राष्ट्रिय खेलाडी बनेर ओलम्पिक खेलसम्म पुग्ने लक्ष्य रहेकाले सहयोग गरेको अमेरिकामा रहेका छन्त्यालले बताए।

‘विपन्न परिवारकी रिकजनालाई सक्ने सहयोग गर्छु, उनको खेल जीवनको सुन्दर भविष्यका लागि सानो सहयोग मात्रै गरेको छु’, छन्त्यालले भने। उनले खेलकुदसँगै शिक्षालाई पनि प्राथमिकता दिने गरी अगाडि बढ्नसमेत रिकजनालाई सुझाव दिएका छन्।

प्रकाशित: ९ पुस २०८० ०४:०६ सोमबार

वार्षिक २५ हजार सहयोग एथलेटिक्स खेलाडी अम्मर छन्त्याल