खेल

न्यु डायमन्ड र टप्सको दोहोरो जित

काठमाडौं – शिवम् न्यु डायमन्डले ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा दोहोरो जित हात पारेको छ ।बुधबार सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल आर्मीलाई पराजित गरेको न्यु डायमन्डले दोस्रो खेलमा श्रीगाउँलाई पराजित गरेको हो ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा भएको पहिलो खेलमा आर्मीमाथि २५–१२,२५–१२, २५–१७ को सोझो सेटमा जित हात पारेको न्यु याडमन्डले दोस्रो खेलमा श्रीगाउँमाथि पनि २५–१६,२५–१२, २५–७ को सोझो सेटमा नतिजा निकाल्यो ।बुधबारै सम्पन्न अर्को खेलमा पश्चिमाञ्चलको टप्स उच्च माविले पनि दोहोरो जित हात पारेको छ ।

पहिलो खेलमा मेघौलीलाई २५–८,२५–१५, २५–१४ पराजित गरेको टप्सले दोस्रो खेलमा श्रीगाउँलाई २५–८,२५–१५,२५–१० को सोझो सेटमा पराजित गर्यो ।त्यस्तै प्रतियोगिताको एक मात्र अपराजित टोली एपिएफ क्लबले अर्को  विभागीय टोली नेपाल पुलिस क्लबलाई २५–१६,२५–२१,२५–१० को सोझो सेटमा पराजित गर्यो ।

प्रतियोगिताको दोस्रो चरण लिगको दोस्रो दिनसम्म १५ खेलमा ४३ अंक जोडेको शिवम् न्यु डायमन्ड  शीर्ष स्थानमा छ । त्यस्तै १२ खेलमा ३५ अंक जोडेको एपिएफ दोस्रो स्थानमा छ ।
शिवम् न्यु डायमन्डले १५ खेलबाट ४३ अंक जोडेको छ । अपराजित रहेको एपिएफले १२ खेलबाट ३५ अंक जोड्न सफल भएको छ ।

प्रकाशित: १८ माघ २०७४ ०३:४५ बिहीबार

न्यु डायमन्ड टप्सको दोहोरो जित