काठमाडौं – नेपाली राष्ट्रिय टोलीका युवा स्ट्राइकर विमल घर्ती मगर भारतीय आई लिगको महारथी मोहन बगान फुटबल क्लबसँग आबद्ध भएका छन्।
आई लिगको चौथो स्थानमा रहेको मोहन बगानसँग तीन महिने सम्झौतामा विमल अनुबन्ध भएका हुन् । मोहन बगानसँग अनुबन्ध भएको पुष्टी गर्दै विमलले अनुबन्धन रकम भने नखुलाउने सहमति भएको बताए।
इटहरीमा शनिबार लक्ष्मी हुन्डाई मनाङ मर्सयाङदी क्लबलाई १–० को नतिजामा हराउँदै मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्दा विमल थ्री स्टारको टोलीमा थिए । थ्री स्टारबाट नेपाली घरेलु फुटबलमा सर्बाधिक पुरस्कार राशीको प्रतियोगिता जितेकै दिन मोहन बगानसँग उनको अनुबन्धन खवर सार्वजनिक भएको हो।
‘हामीले सबै खेलाडीलाई अनुबन्ध गर्दा विदेशमा यहाँभन्दा राम्रो मौका पाए रिलिज गर्ने भनेका थियौं । त्यही अनुरुप विमलले राम्रो अवसर पाएका छन् । हामी उनलाई सुभकामनासहित विदा गर्न चाहन्छौं,’ थ्री स्टार क्लबका महासचिव सञ्जीव सिल्पकारले नागरिकसँग भने, ‘विमलले भारतको आई लिगमा ठूलो क्लबबाट खेल्न पाउनुले नेपाली फुटबललाई नै सहयोग पुग्छ।’
बेल्जियमको एन्डरलेक क्लबबाट पनि विमलले यसअघि विशेष प्रशिक्षण गर्नुका साथै उमेर समूहका प्रतियोगिता खेलेका थिए।
२०१७–१८ सिजनका ११ खेल खेलिसकेको टोली १७ अंकका साथ चौथो स्थानमा रहँदा १० खेलमा २५ अंक जोडेको मिनेर्भा पञ्जाव शीर्ष स्थानमा छ । १० टोली सम्मिलित लिगमा सबैले एक–अर्काविरुद्ध होम एन्ड अवे पद्दतिमा दुई÷दुई खेल खेल्दै उपाधिको छिनोफानो गर्नेछन् । विमलले नयाँ टोलीका सहयात्रीसँग जुट्न आइतबार वा सोमबार कोलकाता जाने बताएका छन्।
मोहन बगानले लिगको १२औं खेलका लागि माघ २० गते शनिबार सिलोङ लाजोङलाई कोलकातास्थित घरेलु साल्ट लेक रंगशालामा निम्त्याउने छ।
प्रकाशित: १४ माघ २०७४ ०५:१८ आइतबार