खेल

सुदूरपश्चिम–११ र बंगलादेशको उत्तर बरिन्धरा भिड्दै

पोखरा – पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा शनिबार (आज) सुदूरपश्चिम–११ ले बंगलादेशको उत्तर बरिन्धरासँग प्रतिस्पर्धा गर्दैछ।

खेल पोखरा रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ।

आयोजक सहारा क्लबलाई ३–० ले पराजित गर्दै सुदूरपश्चिम–११ र वाई पाएर उत्तर बरिन्धरा क्वाटरफाइनलमा प्रवेश गरेका हुन्।
यसअघि हिजो भएको खेलमा झापा–११ लाई १–० ले पराजित गर्दै नेपाल पुलिस क्लबले क्वाटरफाइनल मनाङ मस्र्याङदीसँगको भेट पक्का गरेको छ । पुलिसका लागि खेलको १३ औं मिनेटमा सुमन लामाले गरेको १ मात्र गोल नै निर्णायक बन्यो ।

झापाले खेल अवधिभर गोल गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो। 
पोखरा रंगशालामा माघ २० गतेसम्म संचालन हुने प्रतियोगितामा २ विदेशीसहित १२ टोलीको सहभागिता रहनेछ।

मनाङ मस्र्याङदी, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, नेपाल पुलिस क्लव, संकटा, धरान फुटबल क्लब, सूदुरपश्चिम–११ स्पोर्टिङ क्लब, थ्रीस्टार क्लव, झापा–११, भारतको युनाइटेड सिक्किम फुटबल क्लब र बंगलादेशको उत्तर बरिन्धरा क्लबसहित आयोजक सहारा क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

आहा रारा गोल्ड कप प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५१ हजार प्राप्त गर्ने छन्। हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा दर्शक आकर्षित गर्न प्रवेश टिकटमा भाग्यशाली दर्शकलाई हिरो ड्यास स्कुटर दिइने आयोजकले जनाएको छ।

 

प्रकाशित: १३ माघ २०७४ ०४:५७ शनिबार

सुदूरपश्चिम–११ बंगलादेशको उत्तर बरिन्धरा भिड्दै