खेल

आर्मी र मध्यपश्चिमाञ्चललाई उपाधि

काठमाडौं – राखेप च्याम्पियनसिपअन्र्तगत तेस्रो राष्ट्रिय खो–खो प्रतियोगितामा शुक्रबार पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जित्दा मध्यपश्चिमाञ्चलले महिला स्पर्धामा स्वर्ण पदक जितेको राखेपले जनाएको छ। 

रूपन्देहीमा भएको प्रतियोगिताको फाइनलमा साबिक विजेता त्रिभुवन आर्मीले सुदूर पश्चिमाञ्चललाई ११–७ ले हराउँदै उपाधि रक्षा गरेको हो। मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई २०–१३ ले हराउँदै कांस्य पदक जित्यो। 

महिला स्पर्धामा मध्यपश्चिमाञ्चलले सुदूर पश्चिमाञ्चललाई १०–८ हराउँदै स्वर्ण पदक जित्दा साबिक विजेता त्रिभुवन आर्मीले तेस्रो स्थानमा चित्त बुझायो । तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन आर्मीले मध्यमाञ्चलमाथि १३–२ को सहज नतिजा निकाल्यो। 

प्रतियोगितामा आर्मीका श्याम बुढाथोकी उत्कृष्ट चेजर तथा सुदूर पश्चिमाञ्चलका सन्तोष बोहरा उत्कृष्ट रनर घोषित भए। महिलामा मध्य पश्चिमाञ्चलकी लक्ष्मी थापा उत्कृष्ट चेजर तथा सुदूर पश्चिमाञ्चलकी पूजा ओज उत्कृष्ट रनर घोषित भए।

तीनदिने प्रतियोगिताको पुरुष र महिला दुवै स्पर्धामा ५ विकास क्षेत्र र त्रिभुवन आर्मी क्लब गरी ६ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: ६ माघ २०७४ ०४:५५ शनिबार

आर्मी मध्यपश्चिमाञ्चललाई उपाधि