स्पेनिस खेलाडी होर्जे सान्चेजको गोल प्रेरणामा झापा एफसीले नेपाल सुपर लिग(एनएसएल) को डेब्यु सिजनमा पहिलो जित निकालेको छ।
झापाले आज मंगलबार दशरथ रंगशालामा बुटवल लुम्बिनीमाथि १–० को साँघुरो जितसँगै जारी एनएसएलमा प्लेअफको सम्भावना पनि जीवन्त राखेको छ।दोस्रो सिजनबाट एनएसएलमा डेब्यु गरेको झापाले पाँचौं खेलमा पहिलो जित निकालेको हो। यस सिजन दोस्रो गोल मात्र गरेको झापा त्यसलाई निर्णायक साबित गर्न सफल भयो। पहिलो जितसँगै झापा तीन बराबरी र एक हारबाट ६ अंक बटुल्दै छैटौं स्थानमा उक्लियो। यता, छैटौं खेलमा सिजनको तेस्रो हार बेहोरे पनि बुटवल पाँचौं स्थानमा यथावत् छ।
बुटवल दुई जित र एक बराबरीसहित सात अंकका साथ पाँचौं स्थानमा छ। यो जितसँगै झापाले प्लेअफ पुग्ने सम्भावना पनि कायमै राखेको छ। यद्यपि, अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ। यता, दुई खेल बाँकी छँदा शीर्ष स्थानको ललितपुर सिटी एफसीसँग दुई अंकको अन्तर रहेको बुटवलको प्लेअफ सम्भावना बाँकी छ। तर, त्यसका लागि अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ। बुटवलको प्रशिक्षक विजय महर्जनले पनि प्लेअफ सम्भावना रहे पनि अन्य टोलीको नतिजामा भर पर्नुपर्ने उल्लेख गरे।
आज हामीलाई जित्नैपर्ने दबाबमा थियो। झापाले पाएका अवसर सदुपयोग गर्यौं। तर, हामीले सकेनौं र हार सामना गर्नुपर्यो,’बुटवलका प्रशिक्षक विजय महर्जनले भने, ‘यो हारपछि प्लेअफ सम्भावना कठिन बनेको छ। तर, अरुको नतिजा पनि भर पर्नुपर्नेछ।’ खेलमा दुवै तर्पmबाट गोल अवसर सिर्जना भए पनि झापाले मात्र सदुपयोग गर्न सक्यो। ३९औं मिनेटमा सान्चेजले अग्रता दिलाएका थिए। त्यो गोल नै झापाले रक्षा गर्न सफल भयो र डेब्यु सिजनकै पहिलो जितको स्वाद चाख्यो। त्यसअघि खेलको पहिलो आक्रमण आठौं मिनेटमा झापा एफसीले गर्यो।
सान्चेजले पेनाल्टी क्षेत्रबाट गरेको सट बुटवलका गोलकिपर मोहमोडुले रोके। लगत्तै काउन्टर अट्याकमा बुटवलका स्टेफन बिनोङको सट माथिल्लो बारभन्दा केही माथिबाट बाहिरियो। बुटवलले १३औं मिनेटमा गरेको आक्रमण दोस्रो बारमा ठोकिएर फर्किन पुग्यो। बिनोङको पासमा सर्ज सङको पहिलो सट ठोकिएर फर्कियो। सोही बल नियन्त्रणमा लिँदै सङले गरेको अर्को सट भने झापाका गोलकिपर स्टेफन सुपिचले रोके। २०औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट झापाका कप्तान अन्जन विष्टको सशक्त प्रहार बुटवलका गोलकिपर मोहमोडुले उत्कृष्ट बचाउ गरे।
सोही रिबाउन्ड बलमा लक्ष्मण रुचाल वान भर्सेस वानमा गोल गर्न चुके। ३९औ मिनेटमा सान्चेजको गोलाट झापाले अग्रता लियो। अन्जन बिष्टको पास नियन्त्रणमा लिएका सान्चेज पेनाल्टी क्षेत्रमा दुई डिफेन्डरलाई छक्याउँदै सुन्दर गोल गरे। त्यससँगै पहिलो हाफमा झापा १–० ले अगाडि रह्यो। ६१औं मिनेटमा कप्तान अन्जनले गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन्। आवास लामिछानेको लामो पास नियन्त्रणमा लिएको अन्जन करिब १५ यार्डबाट गोल गर्न असफल रहे। झापाका लागि ७६औं मिनेटमा प्रदीप लामाले अवसर खेर फाले।
कप्तान अन्जनले दिएको उत्कृष्ट पास पेनाल्टी क्षेत्रमा रहेका प्रदीपले सट प्रहार गर्न सकेनन्। ८०औं मिनेटमा कप्तान अन्जनको स्थानमा उज्वल राई मैदानमा प्रवेश गरे। ८३औं मिनेटमा झापाको गोल गर्ने दुई अवसर सफल हुन सकेन। सान्चेजले लेफ्ट साइडबाट गरेको पहिलो प्रहार बुटवलका गोलकिपर मोहमोडुको हातमा टच हुँदै माथिल्लो बारमा लागेर फर्कियो। लगत्तै रिबाउन्ड बलमा समिराज थोकरको हेडमा मोहमोडुले रोके। ८९औं मिनेटमा बिनोङले बुटवलको खेलमा फर्कने अवसर खेर फाले।
अशोक झापाको फ्रिकिकमा अफसाइड बिट गर्दै पेनाल्टी क्षेत्रमा छिरेका बिनोङ वान टच गोल गर्न चुके। इन्जुरी समयको पहिलो मिनेटमा प्रदीप लामाले पेनाल्टी बक्सबाट गोल गर्न सकेनन्। त्यससँगै बाँकी समयमा केही आक्रमण भए पनि थप गोल हुन सकेन र झापाले बुटवलमाथि साँघुरो जित निकाल्यो। बुटवलका प्रशिक्षक विजय महर्जनले जित्नैपर्ने खेलमा अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्नुपरेको बताए। झापाका प्रशिक्षक ओरिवल सेगुराले खेल प्रतिस्पर्धात्मक रहे पनि जित निकाल्न सकेकोमा खुसी व्यक्त गरे।
प्रकाशित: २६ मंसिर २०८० १४:३४ मंगलबार