खेल

किशोरी स्टार्सको उदय

अस्ट्रेलियन अाेपनअन्तर्गत बुधबार युक्रेनकी मार्टा काेस्टियुक अस्ट्रेलियाकी अाेलिभिया राेगाेस्काविरूद्ध बल प्रहार गर्दै । तस्बिर:एजेन्सी

मेलबर्न – वर्षको पहिलो ग्रान्ड स्लाममा नयाँ किशोरी स्टारको उदय भएको दिन बुधबार उपाधिका दाबेदारद्वय क्यारोलिन ओज्नियाकी र इलिना स्यिटोलिना अस्ट्रेलियन ओपनमा स्तब्धतापूर्ण नतिजाको सिकार हुनबाट जोगिए।  

विश्व नम्बर दुई ओज्नियाकीले करियरको पहिलो ग्रान्ड स्लाम उपाधि जित्ने सपना जीवित राख्नका लागि कमै मात्र नाम सुनिएकी क्रोएसियाकी याना फेटविरुद्ध दुई पटक म्याच प्वाइन्ट जोगाउँदै तेस्रो सेटमा ५–१ ले पछि परेको अवस्था उल्टाएर तेस्रो चरणमा स्थान पक्का गरिन् । विश्ववरीयताक्रमको १ सय १९औं स्थानमा रहेकी फेटविरुद्ध सुरुदेखि संघर्ष गर्दै ओज्नियाकीले ३–६, ६–२, ७–५ को नतिजा निकालेकी थिइन्। 

‘खेल साँच्चै रोमाञ्चक भयो । मेरा लागि चाहिँ निकै कठिन । कसरी पुनरागमन गरेँ भन्ने म आफैंलाई थाहा छैन । उनले गुमाउनुपर्ने केही थिएन, त्यही भएर उनी निकै खुलेर खेलिन्,’ ओज्नियाकीले भनिन्, ‘आजको यो कठिन खेलमा मेरा लागि अनुभव महत्वपूर्ण भयो । खेलको नतिजा अनुभवले नै प्रभावित गर्‍यो ।’

चौथो वरीयताकी स्यिटोलिनाले पनि पहिलो सेट गुमाएपछि पछिल्ला दुई सेटमा पुनरागमन जनाउँदै चेक गणतन्त्रकी क्याटेरिना सिनियाकोभामाथि ४–६, ६–२, ६–१ को विजयी नतिजा निकालेकी थिइन् । युक्रेनी स्टार स्यिटोलिनाको यो लगातार सातौं जित हो । तेस्रो चरणमा उनले १५ वर्षको उमेरमै कोर्टमा सनसनी मच्चाइरहेकी मार्टा कोस्टियुकको चुनौती सामना गर्नेछिन् । १९९६ मा मार्टिना हिंगिज क्वार्टरफाइनल पुगेयता प्रतियोगिताको तेस्रो चरण पुग्न सफल कोस्टियुक सबभन्दा कम उमेरकी खेलाडी हुन्। 

युक्रेनकै कोस्टियुकले बुधबार अस्ट्रेलियाकी छनोट खेलाडी ओलिभिया रोगोस्कामाथि ६–३, ६–५ को जित निकाल्दै तेस्रो चरणको टिकट काटेकी थिइन् । गत वर्ष अस्ट्रेलियन ओपनको जुनियर उपाधि जितेकी कोस्टियुकले यो वर्षको छनोट चरण हुँदै मेलबर्न पार्कमा अविजित यात्रालाई ११औैं खेलसम्म निरन्तरता दिएकी छिन् । 

मेलबर्नको प्रचण्ड गर्मीमा महिलातर्फ बुधबारै सम्पन्न दोस्रो चरणका अन्य खेलमा चेक गणतन्त्रकी डेनिसा एलर्टोभा, युक्रेनकी काटेर्ना बोन्डारेन्को, थाइल्यान्डकी लुक्सिका कुमखुम, क्रोएसियाकी पेट्रा मार्टिच, स्लोभाकियाकी माग्डिलिना राइबारिकोभा र पोल्यान्डकी माग्डा लिनेटेले विजय हासिल गरे । बोन्डारेन्कोले गत वर्ष क्वार्टरफाइनलसम्मको यात्रा तय गरेकी १५औं वरीयताप्राप्त  रूसी खेलाडी एनास्टासिया पाभ्लुचेन्कोभाको यात्रामा पूर्णविराम लगाएकी थिइन् ।
पुरुषतर्फ विश्व नम्बर एक स्पेनिस स्टार राफेल नाडालले १७औं ग्रान्ड स्लाम उपाधि जित्ने लक्ष्यको बाटोमा अघि बढ्ने क्रममा अर्जेन्टिनी प्रतिद्वन्द्वी लियोनार्दो मेयरमाथि ६–३, ६–४, ७–६(७÷४) को नतिजामा जित हासिल गर्दै तेस्रो चरणमा स्थान पक्का गरे। 

‘यो कोर्टमा खेल्दा मलाई सधैं विशेष खालको ऊर्जा मिल्ने गर्छ,’ गत वर्षको फाइनलमा रोजर फेडेररसँग पराजित भएका नाडालले रड लेभर एरिनामा जित हासिल गरेपछि भने, ‘मेयर खतरनाक प्रतिद्वन्द्वी हुन् । त्यसैले तेस्रो चरण पुग्दा म खुसी छु । म र मेरो परिवारका लागि यो प्रतियोगिता विशेष छ । त्यसैले म यहाँ जति सक्दो माथि पुग्न चाहन्छु ।’

छैटौं वरीयताप्राप्त क्रोएसियाली खेलाडी मारियन सिलिकले पनि सहजै तेस्रो चरणमा स्थान पक्का गरे । विम्बल्डनका उपविजेता सिलिकले बुधबार पोर्चुगलका जोआवो सोउसामाथि ६–१, ७–५, ६–२ को नतिजामा जित हासिल गरेका थिए। 
फ्रान्सेली भेट्रान प्रतिद्वन्द्वी जाइल्स सिमोन चोटका कारण रिटायर्डहर्ट भएपछि युएस ओपनमा सेमिफाइनलसम्मको यात्रा तय गरेका १०औं वरीयताप्राप्त स्पेनिस पाब्लो कारेनो बुस्टा ६–२, ३–० को अग्रतासहित तेस्रो चरण प्रवेश गरे।
पुरुषतर्फका अन्य खेलमा जित हासिल गर्दै जर्जियाका निकोलाज बासिलासभिली, इटालीका आन्द्रियास सेपी, लक्जेम्बर्गका जाइल्स मुलर, बेलायतका काइल इडमन्ड, फ्रान्सका १५औं वरीयताप्राप्त जो वेल्फ्रिड सोंगा, अमेरिकाका रायन ह्यारिसन र क्रोएसियाका इभो कार्लोभिच प्रतियोगिताको तेस्रो चरण प्रवेश गरेका छन्। 

१९९६ मा मार्टिना हिंगिज क्वार्टरफाइनल पुगेयता प्रतियोगिताको तेस्रो चरण पुग्न सफल कोस्टियुक सबभन्दा कम उमेरकी खेलाडी हुन्। 

प्रकाशित: ४ माघ २०७४ ०३:३९ बिहीबार

किशोरी स्टार्सको उदय