खेल

फोहोर जम्मा गर्नेलाई फुटबल

फोहोर संकलन गरेबापत कालिका माविलाई फुटबल प्रदान गर्दै वडासचिव चित्र सुवेदी (दायाँ) । तस्बिर : नागरिक

खोटाङ– खोटाङको रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीले फोहोर संकलकलाई फुटबल दिन थालेको छ । १५ वडा रहेको नगरपालिकाले थालेको सरसफाइ अभियानलाई सफल पार्नका लागि वडा कार्यालय खार्मीले पाँच केजी फोहोर संकलन गर्ने संकलकलाई एक थान फुटबल दिन थालेको हो।

नसड्ने पाँच केजी फोहोर संकलन गरेबापत एक थान फुटबल प्राप्त हुने भएपछि वडाका केटाकेटी फोहोर संकलनको होडबाजीमा उत्रिएका छन् । बोरामा संकलन गरेर ल्याइएका फोहोर हरेक टोलमा जलाउने व्यवस्था मिलाइएको वडा सचिव चित्र सुवेदीले जानकारी दिए । ‘वर्षौँदेखि यत्रतत्र छरिएका प्लास्टिकका फोहोर संकलन सजिलो थिएन,’ वडा सचिव सुवेदीले भने, ‘गाउँ सरसफाइका लागि वडावासीलाई उत्साहित बनाउनका लागि पाँच केजी फोहोर उठाऊ फुटबल लैजाऊ भनेका हौँ ।’ 

फुटबल प्राप्तिका लागि बाटोघाटो, घरआसपास मिल्काइएका बिस्कुट, चाउचाउ, चकलेटका खोल, थाङ्ना र प्लास्टिकका बोतल संकलन गर्दै गाउँको प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा स्थानीयबीच प्रतिस्पर्धा नै चलिरहेको छ । सरसफाइ अभियानका क्रममा पुस ३० गतेसम्ममा १८ वटा फुलबल वितरण भइसकेको वडा सचिव सुवेदीले बताए । फुटबल दिएर फोहोर संकलन सुरु गरेकै दिन साबिकका खार्मी–६ र ७ बाट करिब ५५ केजी नसड्ने फोहोर संकलन भएको थियो । पुरानो फोहोर हटाइसकिएपछि पनि सरसफाइ अभियानलाई निरन्तरता दिँदै प्रत्येक घरमा फोहोर संकलन गर्ने टोकरी राख्ने व्यवस्था मिलाउने र जथाभाबी फोहोर मिल्काउनमा कडाइ गर्ने तयारी गरिएको वडा सचिव सुवेदीले बताए । नगरपालिकाका १५ वटै वडामा फरक–फरक शैलीमा सरसफाइ अभियान सञ्चालन भइरहेको छ । 

 

 

प्रकाशित: २ माघ २०७४ ०४:०३ मंगलबार

फोहोर जम्मा गर्नेलाई फुटबल