काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ।
उक्त प्रतियोगितामा स्वर्ण पदक विजेता देवघाट गाउँपालिका–५ गैडाढुङ्गा निवासी गुरुङलाई गाउँपालिकाले शुक्रबार नगद २५ हजार रूपैयाँसहित सम्मान गरेको हो। गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गुरुङलाई २५ हजार रूपैयाँ नगद र प्रमाणपत्र प्रदान गरे।
कराँते प्रतियोगितामा स्वर्ण पदक जितेर नेपाल तथा देवघाट गाउँपालिकाको नाम राख्न सफल भएकाले प्रोत्साहनस्वरूप सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए।
उनले भने, “उनले खेलकुदमार्फत पालिकाको नाम राख्न सफल हुनुभएको छ। खेलाडीलाई प्रोत्साहन गर्नका लागि नगदसहित सम्मान गरेका हौ।”
सम्मानित भएपछि गुरुङले यसले आफूलाई प्रेरणा मिलेको बताए। गुरुङले ४५ केजीमुनिको समूहमा बङ्गलादेशकी अर्पा सलिहालाई हराउँदै स्वर्ण पदक जितेका थिए।
प्रकाशित: २३ मंसिर २०८० ०४:५७ शनिबार