खेल

न्युजिल्यान्डको जितमा विलियम्सन नायक

सतक बनाएपछि विलियम्सन ।

वेलिङ्टन– एएफपी– कप्तान केन विलियम्सनको उत्कृष्ट ब्याटिङप्रेरित न्युजिल्यान्डले शनिबार पहिलो एकदिवसीय शृंखलामा पाकिस्तानलाई डर्कवर्थ लुइस पद्धतिमा ६१ रनले पराजित गरेको छ ।
न्युजिल्यान्डले जितका लागि न्युजिल्यान्डले दिएको ३ सय १६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३१ ओभरमा ६ विकेट गुमाउँदै १ सय ६६ रन जोड्दा वर्षाले खेल अवरुद्ध भएका थियो । त्यसपछि पाकिस्तानलाई जितका लागि ३१ ओभरमा २ सय ८८ रनको लक्ष्य दिइएको थियो । तर पाकिस्तानले वर्षाअघि नै ३१ ओभरको खेल खेलिसकेकाले न्युजिल्यान्डले डकवर्थ लुइस पद्धतिमा खेलको नतिजा आफ्नो पक्षमा पारेको थियो ।

पाकिस्तानका ओपनर फखर जमानले अविजित ८२ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । पहिलो ओभरको चौथो बलमा टिम साउथीले ओपनर अजर अललाई एलबिडब्लुको सिकार बनाउँदै पवेलियन फर्काएपछि संकटमा परेको पाकिस्तानको इनिङ थप एक रन जोड्दा बाबर आजमलाई गुमाएपछि धराशयी बनेको थियो । त्यस्तै मोहम्मद हाफिज, सोएब मलिक र कप्तान सरफराज अहमद पनि सस्तोमा पवेलियन फर्केपछि पाकिस्तान दबाबमा परेको थियो ।

५४–५ मा भएको पाकिस्तानी इनिङलाई छौंटौ विकेटका लागि जमान र साडब खानले ७८ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरे पनि त्यो पर्याप्त भएन । ८६ बल खेलेका जमानले ५ चौका र ४ छक्का प्रहार गर्दा ३२ बल खेलेका खानले ४ चौकाको मद्दतमा २८ रन जोडे । त्यस्तै फहिम अस्सरफले अविजित १७ रन जोडे । न्युजिल्यान्डका साउथीले ३, ट्रेन्ट बोल्टले २ र टोड् एस्ट्लेले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङका लागि उत्रिएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय १५ रनको सम्मानजनक योगफल खडा गरेको थियो । न्युजिल्यान्डका विलियम्सनले १ सय १५ रन जोडे । १ सय १७ बल खेलेका विलियम्सनले ८ चौका र १ छक्का प्रहार गरे । त्यस्तै ओपनर कोलिन मुनरो र मार्टिन गुप्टिलले क्रमश ५८ र ४८ रनको योगदान दिए । ३५ बल खेलेका मुनरोले ६ चौका र २ छक्का प्रहार गर्दा ७२ बलको सामना गरेका गुप्टिलले ४ चौका र २ छक्का प्रहार गरे । पाकिस्तानका हसन अलीले ३ तथा, मोहम्मद आमिर, रुमान रहिस,फाहिम र जमानले समान १–१ विकेट लिए ।

यस जितसँगै न्युजिल्यान्डले पाँच एकदिवसीय शृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो एकदिवसीय खेल मंगलबार नेल्सनमा हुनेछ ।

 

प्रकाशित: २३ पुस २०७४ ००:२६ आइतबार

न्युजिल्यान्डको जितमा विलियम्सन नायक