खेल

केपी ओली टि–२०ः कोशीको सान्त्वना जीत

कोशीका सर्वण यादव प्लयेर अफ दि म्याच घोषित। तस्बिर उमेश पुन/नागरिक

आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी निलोलाई ९ विकेटले पराजित गर्दै कोशी प्रदेशले केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा सन्त्वना जितसँगै लिगचरणका खेल सकिएका छन्।  

पोखरा रंगशाला क्रिकेट मैदानमा बुधबार भएको प्रतिस्पर्धामा खेलमा आयोजक निलोले दिएको ६८ रनको लक्ष्यलाई कोशीले १ विकेट गुमाउँदै ७.४ ओभरमा पुरा गरेको थियो। सबैभन्दा कम ओभरमा लक्ष्य पुरा गरेको प्रतियोगिताकै पहिलो हो।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भईरहेको प्रतियोगितामा बुधबार टस हारेर व्याटिङ गरेको निलो १७.५ ओभरमा ६७ रनमा समेटिएको थियो। ओपनर रोनिम तिवारीलाई फिर्दोश अन्सारीले शून्य रनमा पेभिलियन फर्काए पछि आयोजक निलो दवावमा परेको थियो। अर्का ओपनर अर्जुन रायमाझीले व्यक्तिगत २४ रन जोडे। उनलाई सोनु मण्डलले आउट गरे। मेहुल श्रेष्ठ र अभय यादवले १०–१० रन र शुभम खनालले ९ रन जोडे। सर्वण यादवले ३.५ ओभरमा ८ रन दिएर ३ विकेट हात पारे। कमल खत्री र फिर्दोश अन्सारीले समान २–२ विकेट लिए।

जवाफी व्याटिङमा उत्रिएको कोशीका लागि ओपनर सोनु अन्सारीले ३ चौका र ३ छक्का प्रहार गर्दै २२ बलमा ३५ रन बनाएपछि सहज जित सम्भव हुन पुग्यो। मिनाश थापाले ७ बलमा १८ रन बनाए भने अर्का ओपनर अंकित सुवेदी १४ रन जोडे। उनी शुभम खनालको बलमा आउट भए। बिहीबार दुई सेमीफाइनल खेल हुनेछन्। पहिलो खेल विभागिय टोली नेपाल आर्मी र बागमती प्रदेश तथा दोश्रो खेल एपिएफ क्लव र मधेश प्रदेशका विच हुनेछ।

प्रकाशित: १३ मंसिर २०८० ०८:२१ बुधबार

केपी ओली टि–२० कोशी