खेल

एन्फा अध्यक्षमा थापाले उम्मेदवारी दिने

पोखरामा बुधबार उम्मेदवारी घोषणा गर्दै कृष्ण थाापा ।

पोखरा– अखिल नेपाल फुटबल संघ (एन्फा) को १६ औं अधिवेशनमा अध्यक्षको लागि पूर्व अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक कृष्ण थापाले उम्मेदवारी घोषणा गरेका छन् । आगामी चैत १४ गते हुने अधिवेशनमा फुटबलमा देखिएको विकृति हटाउन आफ्नो उम्मेदवार रहेको थापाले पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिए । 

‘५ वर्षे कार्यकालमा फुटबलमा भइराखेको विकृति हटाउनका लागि अध्यक्ष पदमा उम्मेदवार दिँदैछु,’ उनले भने, ‘लामो समयदेखि राष्ट्रिय टिमबाट खेलेको अनुभवलाई समेटेर काम गर्नेछु ।’ उनले हालको एन्फा पर्दा बाहिरकाले चलाएको दाबी गरे । ‘एन्फामा म्याच फिक्सिङ, ओभर एज लगायतका गल्ती छन्,’ उनले भने, ‘संस्थाबाट आर्थिक दुरुपयोग भइरहेको छ ।’ उनले आफू अध्यक्ष भएपछि फुटबल विकासको लागि लागीपर्ने बताए ।

उनले प्राविधिक पक्षको साथै सपोर्टले गर्दा जित्ने आधार बनेको सुनाए । थापाले युथ एकेडेमीसँगै सात प्रदेशमा सातवटै फुटबल एकेडेमी राख्ने योजना बनाएको बताए । ‘विकृति हटाएर लोकतान्त्रिक परिपाटीमा लैजानेछु,’ उनले भने, ‘भौतिक पूर्वाधारको रूपमा आएको रकमले प्रदेश–प्रदेशमा रंगशाला निर्माण गर्न पहल गर्नेछु ।’ ३ वर्षदेखि सञ्चालनमा नआएको लिग खेललाई प्राथमिकता दिने उनले औंल्याए । 
उनका अनुसार एन्फाको उम्मेदवारका लागि जम्माजम्मी ७७ भोट खस्नेछन् । त्यसमा ३९ भोट ल्याउनुपर्ने हुन्छ । ‘पैसाले भोट किन्दिनँ आफ्नो योग्यताको आधारमा जित्नेछु,’ थापाले भने, ‘फुटबलमा राजनीति हुन्न र आफ्नो कार्यकालमा हुन पनि दिने छैन ।’ हरेक जिल्लामा फुटबलको प्रतिभा खोजी गरी त्यसको विकासमा सधैं लाग्ने योजना उनले सुनाए । 
 

 

प्रकाशित: २० पुस २०७४ ००:४८ बिहीबार

एन्फा अध्यक्षमा थापाले उम्मेदवारी दिने