खेल

न्युजिल्यान्डलाई ट्वान्टी–२० शृंखला

वेलिङ्टन– कोलिन मुनरोको आक्रामक ब्याटिङप्रेरित न्युजिल्यान्डले बुधबार तेस्रो अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा वेस्ट इन्डिजमाथि १ सय १९ रनको रबाफिलो जित हात पारेको छ ।

न्युजिल्यान्डले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १६.३ ओभरमा १ सय २४ रनमा सीमित भयो । वेस्ट इन्डिजका आन्द्रे फ्लेचरले ४६ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ३२ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । खेलको पहिलो ओभरमा तीव्र गतिका बलर टिम साउथीले ओपनर चाडविक वाल्टन र क्रिस गेललाई पवेलियनको बाटो देखाएपछि वेस्ट इन्डिजको पतन सुरु भएको थियो । न्युजिल्यान्डका साउथीले २१ रन खर्चंदै ३ विकेट लिए । त्यस्तै ट्रेन्ट बोल्ट र एस सोदीले समान २–२ विकेट लिए । 

यस जितसँगै न्युजिल्यान्डले तीन अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला २–० ले जितेको छ । यसअघि शनिबार सम्पन्न पहिलो खेल न्युजिल्यान्डले जित्दा सोमबार वर्षाका कारण दोस्रो खेल रद्द भएको थियो । वेस्ट इन्डिजको न्युजिल्यान्ड भ्रमण दुखद बनेको छ । वेस्ट इन्डिजले दुई टेस्ट शृंखला २–० र तीन एकदिवसीय खेलको शृंखला ३–० ले गुमाएको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४३ रनको विशाल योगफल खडा गरेको थियो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिल र मुनरोले पहिलो विकेटका लागि १० ओभरभित्रै १ सय ३६ रनको साझेदारी गर्दै टोलीलाई दरिलो सुरुआत दिलाएका थिए । आक्रामक ब्याटिङ गरेका मुनरोले ५३ बलमा ३ चौका र १० छक्का मद्दतमा १ सय ४ रन जोड्दा ३८ बलको सामना गरेका गुप्टिलले ५ चौका र २ छक्का प्रहार गरे । यससँगै मुनरो अन्तर्राष्ट्रिय ट्वान्टी–२० मा लगातार तीन शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

 

प्रकाशित: २० पुस २०७४ ००:४५ बिहीबार

न्युजिल्यान्डलाई ट्वान्टी–२० शृंखला