खेल

दुई लाख जित्दा पनि खुसी भएनन् पार्की

‘३० डिग्री तापक्रमले रेकर्ड ब्रेकबाट चुके’

धारा नेपालगन्ज म्याराथनमा नवौँ संस्करणको उपाधि जितेका एपिएफका गोपिचन्द्र पार्की। अर्जुन ओली/नागरिक

नेपालगन्ज म्याराथनको नवौँ संस्करणको उपाधि जित्दा गोपीचन्द्र पार्की खुस त देखिन्थे। म्याराथन उपाधि जितेपनि ‘कोर्स रेकर्ड ब्रेक’ गर्न नसक्दा भने उनी त्यत्तिकै निराश पनि भए। 

उपाधि जितेपछि सञ्चारकर्मीसँग उनले भन्दै थिए, ‘खेल पैसाको लागि मात्र खेलिदैन, रेकर्ड ब्रेक गर्न पनि खेलिन्छ।’  उपाधि जितेसँगै उनले नगद २ लाख रुपैयाँ पाए। तरपनि, मन ‘अमिलो’ पारेर उनी नेपालगन्जबाट फर्किए। रेकर्ड ब्रेकका लागि उनका सामु नेपालगन्जको मौसम ‘बाधक’ बनिदियो। 

‘राम्रै जित्छु भनेर म म्याराथनमा सहभागी हुन नेपालगन्ज आएको थिएँ, जे होस् उपाधि जित्न सफल भए, तर रेकर्ड ब्रेक गर्न सकिएन,’ निराश मुद्रामा नेपालगन्जका सञ्चारकर्मीसँग भने, ‘आयोजकले अलिकति समयलाई ख्याल गरिदिएको भए मैले अवश्य पनि रेकर्ड ब्रेक गर्थे।’ 

नेपालगन्ज म्याराथनको रुट राम्रो भएपनि बिहान अबेला दौड सुरु हुँदा तापक्रम बढी भएर रेकर्ड ब्रेक गर्न नसकिएको पार्की बताउँछन्। ‘नेपालगन्जको रुट चाही नेपालकै नम्बर वान हो, यदि आधा घण्टा अगाडी मात्र दौड सुरु गरिएको भए रेकर्ड ब्रेक हुन्थ्यो, ३० डिग्री तापक्रममा दौडन सकिँदैन,’ उनले भने।

पार्कीका अनुसार दौड सुरु भएर अन्त्य हुँदा ३० डिग्रीसम्म तापक्रम पुगेको थियो। ३० डिग्रीभन्दा माथिको तापक्रममा दौडँदा त खेलाडीले आफूलाई सम्हाल्नै गाह्रो हुने सुनाए। अघिल्लो वर्ष म्याराथनको आठौँ संस्करणमा नेपाली सेनाका खड्काबहादुर खड्काले निर्धारित निर्धारित ४२ दशमलव १९५ किलोमिटर दुरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका थिए। 

तर, यसपटक पार्कीले नवौँ संस्करणमा निर्धारित दुरीलाई २ घण्टा २१ मिनेट ३९ सेकेन्डमा पूरा गरे। यसपटक उपविजनतामै चित्त बुझाएका खड्काले निर्धारित दुरी २ घण्टा २२ मिनेट ९ सेकेन्डमा पूरा गरे।

म्याराथनको छैटौँ संस्करणमा उपाधि जित्दा पार्कीले २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गरेका थिए जसले गर्दा यसपटक कसैले पनि कोर्स रेकर्ड ब्रेक गर्न सकेनन्। यसअघिका संस्करणमा आयोजकले बिहान ७ बजे म्याराथन दौड सुरु गरेको भएपनि यसपटक बिहान ७ बजेर ५९ मिनेटमा दौड सुरु गरिँदा सोचे जस्तो परिणाम ल्याउन नसकिएको पार्कीले बताए। 

क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा ‘धारा नेपालगन्ज म्याराथन’ आयोजना गरिएको थियो। आयोजकले यसपटक म्याराथनको नवौँ संस्करणमा ‘कोर्स रेकर्ड ब्रेक’ गर्ने खेलाडी लन्डन म्याराथनमा सहभागी हुन पाउने घोषणा गरेको थियो। म्याराथनमा उत्कृष्ट स्कोर हासिल गर्ने एक जना खेलाडीलाई यसपटक लन्डन म्याराथनमा सहभागी गराउने कुरा आयोजकले घोषणा गरेपछि खेलाडीमा उत्साह जागेको थियो। 

तर, आयोजकको व्यवस्थापकीय कमजोरीका कारण आफूहरूले रेकर्ड ब्रेक गर्न नसकेको सहभागी खेलाडीको गुनासो छ। नवौँ संस्करणका उपविजेता खड्का र तेस्रो स्थानमा आएका एपिएफकै किरणसिंह बोगटीले पनि म्याराथनमा यसपटक नेपालगन्जको समयले त्यति साथ नदिएको प्रतिक्रिया दिएका छन्। 

‘दौड बिहान ७ बजे नै सुरु हुनुपर्थ्यो, आधा घण्टा अगाडीसम्म सुरु गरिदिएको भए पनि रेकर्ड ब्रेक गर्न सकिन्थ्यो,’ उनीहरूले भने ‘गर्मी धेरै भएको हुनाले एकदम गाह्रो भयो।’ बिहान ७ बजे सुरु गर्ने भनिएको म्याराथन ७ बजेर ५९ मिनेटमा सुरु गरिँदा तापक्रम बढेर समस्या भएको अधिकांश खेलाडीको गुनासो छ।

‘यदि बिहान ७ बजे दौड सुरु भएको भए निर्धारित दुरीलाई २ घण्टा १८ मिनेटमै पार गर्ने लक्ष्य मैले राखेको थिए, र पार गर्न पनि सकिन्थ्यो,’ पार्कीले भने ‘यसपटक रेकर्ड ब्रेक गर्नकै लागि सहभागी भएको हुँ, खेलाडीले मात्र चाहेर नहुँदो रहेछ, उपाधि जिते पनि समयका कारण रेकर्ड ब्रेक हुन सकेन।’ 

उपाधि जिते पनि रेकर्ड ब्रेक नहुँदा लन्डन जाने ठुलो अपेक्षा आफूले नराखेको बताए। ‘लन्डन जाने अपेक्षा मैले राख्दिन, आयोजकले पठाए ठिकै छ, मलाई नै पठाउनुपर्छ भन्ने छैन,’ उनले भने।  म्याराथनको ‘करिअर’ अघि बढाउन आफूले धेरै सङ्घर्ष गरेको बताए। ‘म्याराथनकै लागि धेरै ऋण, कर्जा गरेर तयारी गर्नुपर्छ, तर देशमा खेल क्षेत्रको हालत यस्तो छ,’ पार्कीले भने। 

आयोजक संस्थाका अध्यक्ष टिएस ठकुरीले म्याराथनमा कसैले रेकर्ड ब्रेक गर्न नसके पनि उपाधि विजेतालाई मात्र भएपनि लन्डन म्याराथनमा लैजाने आन्तरिक योजना रहेको बताए। ‘रेकर्ड ब्रेक कसैले गर्न सकेनन्, तरपनि हामीले लन्डन म्याराथनमा नेपालगन्ज म्याराथनका विजेतालाई नै पठाउने हो,’ उनले भने ‘उपाधि एक जनाले जित्छ, तर रेकर्ड ब्रेक धेरैले गर्न सक्छन्, तसर्थ, खेलाडीलाई उत्साहित गर्नलाई हामीले यो घोषणा गरेका थियौँ।’ उनका अनुसार लन्डन म्याराथन आगामी अप्रिलमा गर्ने तयारी छ। आगामी डिसेम्बरसम्म दर्ता प्रक्रिया सुरु हुने ठकुरीले बताए।

नेपालगन्ज म्याराथनको नवौँ संस्करणमा खेलाडीलाई दिइएको आधिकारिक समय शनिवार बिहान साढे ७ बजे भएको जिकिर गर्दै बढीमा ६÷७ मिनेट मात्र ढिला दौड सुरु भएको उनको दाबी छ। वरिष्ठ एथलेटिक्स प्रशिक्षक चन्द्र गुरुङ म्याराथनका लागि तापक्रम महत्त्वपूर्ण कुरा भएको बताउँछन्। नेपालगन्जको मौसमलाई मध्यनजर गर्दै बिहान ७ बजे सुरु गर्ने योजना भएपनि अतिथिलाई पर्खिदा ७ बजेर ५९ मिनेटमा दौड सुरु गर्नु परेको उनले सुनाए। ‘नियम अनुसार म्याराथनका लागि १२ देखी १६ डिग्रीसम्म हुनुपर्छ, तर २५ डिग्रीसम्म पनि खेलाइन्छ,’ गुरुङले भने ‘हामी प्राविधिक टोली तयारी अवस्थामा बसेर सहभागीलाई साढे ६ बजे नै बोलाएका थियौँ, रेकर्ड ब्रेक गर्न नसक्नुमा खेलाडी र उसले गरेको प्रशिक्षणमा पनि भर पर्छ।’ प्राविधिक टिम तयारी अवस्थामा रहँदा पनि अतिथि र सहभागीका कारण ढिलो सुरु भएको उनले सुनाए । 

उपाधि विजेता पार्कीले कोर्स रेकर्ड ब्रेक गर्न नसक्नुमा भर्खरै सम्पन्न एसियन गेममा उनले सहभागिता जनाउनु पनि अर्को कारण रहेको बताए। ‘उनी(गोपीचन्द्र पार्की) भर्खरै एसियन गेम खेलेर आएका हुन्, तत्कालै खेलेर आएको खेलाडीले म्याराथनमा राम्रो गर्न सक्दैन,’ गुरुङले भने। नेपालगन्ज म्याराथनले गतवर्ष एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) बाट मान्यता पाएको थियो। एम्सबाट नेपालगन्ज म्याराथनको ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ। प्रमाणीकरण भएपछि यहाँका उत्कृष्ट खेलाडीलाई लन्डनमा सहभागी गराउने वातावरण मिलाइएको आयोजकको भनाई छ।  

प्रकाशित: ११ मंसिर २०८० ०६:२९ सोमबार

गोपीचन्द्र पार्की नेपालगन्ज म्याराथनको नवौँ संस्करण म्याराथन उपाधि ‘कोर्स रेकर्ड ब्रेक’