खेल

जनवरी सरुवामा क्लबहरूको योजना

कारास्को

लन्डन– नयाँ वर्षसँगै खुल्ने जनवरी सरुवा बजारमा इङ्लिस प्रिमियर लिगका हस्ती क्लबहरूले फेरि एक पटक ठूलो रकम खर्चिनका लागि तयार भएर बसेका छन् । 

सरुवा बजार आधिकारिक रूपमा खुल्नुअघि नै लिभरपुलले साउथह्याम्पटनका भरजिल भान डिजिक लाई विश्व कीर्तिमानी (रक्षकका लागि) रकममा अनुबन्ध गरिसकेको छ । उपाधि होडलाई सहज बनाइसकेको म्यानचेस्टर सिटीले टोलीलाई थप मजबुत बनाउन अझै रकम खर्चिने सम्भावना छ । म्यानचेस्टर युनाइटेड, चेल्सी र टोटेनह्यामले पनि आफ्नो प्रतिद्वन्द्वीलाई भेट्टाउन रकम खर्चिने पक्का छ ।
म्यानचेस्टर सिटी
लिगमा लगातार १८ खेलसम्मको कीर्तिमानी विजयी यात्रा गरेको सिटीलाई नयाँ खेलाडी भित्र्याउनै पर्ने जरुरी छैन । तर, प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो टोलीलाई अझ मजबुत बनाउन कुनै कन्जुस्याइँ गर्ने छैनन् । 

सिटीले ‘समर विन्डो’ मा वेस्ट ब्रोमका सेन्टर ब्याक जोनी इभान्सलाई दुई पटकसम्म भित्र्याउने प्रयास गरेको थियो । भिसेन्ट कोम्पनी पूर्णरूपमा चोटमुक्त नभइसकेकाले इभान्सलाई भित्र्याउने ग्वार्डिओलाको चाहना अझै मेटिसकेको छैन । लामो समयदेखि भित्र्याउनका लागि ताकिरहेको चिलीका फरवार्ड एलेक्सिस सान्चेज पनि ग्वार्डिओलाको प्राथमिकता हुन सक्छन । सान्चेज आर्सनलसँगको सम्झौता नवीकरण नगरी बसेका छन् ।


म्यानचेस्टर युनाइटेड
शीर्ष स्थानमा सहरी प्रतिद्वन्द्वी सिटीभन्दा धेरै पछि रहेको युनाइटेडमा निराशा छाएको छ । शनिबार रोमेलु लुकाकु घाइते भएको खेलमा बर्नलीसँग घरेलु मैदानमा बराबरी खेलेपछि युनाइटेड तेस्रो स्थानमा झरेको छ । प्रशिक्षक जोजे माउरिन्होले सिटीसँगको दूरी घटाउन युनाइटेडले ठूलो रकम खर्चिनुपर्ने स्पष्ट पारिसकेका छन् । 

माउरिन्होको मुख्य प्रथमिकता ‘लेफ्ट ब्याक’ र ‘विंगर’मा छ । रक्षापंक्तिलाई बलियो बनाउन युभेन्ट्सका एलेक्स सान्ड्रो र टोटेनह्यामका ड्यानी रोज युनाइटेडका लागि उपयुक्त हुन सक्छन् । त्यस्तै फुलह्यामका युवा खेलाडी रायन सेसेग्नन युनाइटेडले अनुबन्ध गर्न सक्ने अर्का खेलाडी हुन सक्छन् । आर्सनलका मेसुट ओजिल, बोरुसिया डर्टमन्डका जुलियन विगल र बोर्डेउक्सका माकोलम युनाइटेडको मिडफिल्डमा खेल्न सक्ने सम्भावित खेलाडी हुन् । युनाइटेडले हेनरिक एमखिटार्यन र डेली ब्लाइन्डलाई बेच्न सक्ने सम्भावना छ ।


चेल्सी
‘समर’मा आफ्नो मुख्य प्रथमिकतामा रहेको खेलाडी भित्र्याउन असफल भएपछि चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेको सिजनमा धेरैजसो समय टोली संयोजन गर्नमै बित्यो । उपाधि होडमा सिटीभन्दा धेरै पछाडि रहेको चेल्सीले प्रशिक्षक कोन्टेलाई धेरै विकल्प दिने सम्भावना छ । 
एट्लेटिको मड्रिडका यान्निक फेरेइरा कारास्को र नेपोलीका द्रिइस मार्टिन्स कोन्टेको रोजाइमा परेका छन् । दुईले अल्भारो मोराटा र मिचे बात्सुयीको विकल्प दिन सक्छन् । युभेन्ट्समा रहँदा कोन्टेसँगै काम गरेका बायर्नका मिडफिल्डर आर्टुरो भिडाल साबिक विजेतासँग जोडिएको अर्को नाम हो ।


लिभरपुल
नेदरल्यान्ड्सका सेन्टर ब्याक भान डिजिकलाई एनफिल्ड ल्याएर सरुवा बजारमा हलचल मच्चाइसकेका लिभरपुलका प्रशिक्षक योर्गान क्लोप अब आफ्ना मिडफिल्डर फिलिप कौटिन्होलाई रोक्नमै व्यस्त हुन सक्छन् ।

ब्राजिलका फरवार्ड कौटिन्होका लागि बार्सिलोनाले गरेको १० करोड पाउन्डको प्रस्तावलाई लिभरपुलले अस्वीकार गरेको थियो । ड्यानियल स्टुरिज क्लबबाट बाहिरिने बलियो सम्भावना छ । पहिलो रोजाइमा पर्न छाडेपछि इङ्ल्यान्डका फरवार्ड साउथह्याम्पटनसँग जोडिन पुगेका छन् ।


टोटेनह्याम
सिजनको मध्यान्तरसम्म निराशाजनक प्रदर्शन गरेको टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेट्टिन्हो मिडफिल्ड बलियो बनाउनका लागि सरुवा बजारमा ठूलै रकम खर्चिने तयारीमा छन् । एभर्टनका रोज बार्कलीले चेल्सी जाने भन्दै अन्तिम समयमा पोचेट्टिन्होको प्रस्ताव अस्वीकार गरेका थिए । उनले यस पटक टोटेनह्यामको प्रस्ताव स्वीकार गर्ने सम्भावना छ ।

आ​र्सनल

आर्सनलमा खेलाडी र प्रशिक्षकबीचको तनाव बढ्दो छ । यस्तो अवस्थमा बार्सिलोनाका पूर्वफरवार्ड सान्चेजलाई के गर्ने भन्नेमा आर्सेन वेंगरले छिट्टै निर्णयमा पुग्नुपर्नेछ । सिजनको अन्त्यसँगै सकिन लागेको क्लबसँगको सम्झौता नवीकरण गर्न सान्चेजले अस्वीकार गरेका थिए । वेंगरले सान्चेजलाई अहिले नबेचे जुनपछि उनले न खेलाडीलाई टोलीमा पाउन सक्छन्, न पैसा नै पाउँछन् ।

अगस्टमा सान्चेजलाई भित्र्याउनबाट अन्तिम समयमा चुकेको सिटीले अझै उनलाई भित्र्याउने इच्छा मारिसकेको छैन । पेरिस सेन्ट जर्मन र रियाल मड्रिडले पनि सान्चेजमाथि चासो देखाइरहेका छन् । क्रिस्टल प्यालेसका विंगर विलफ्रिड जाहालाई भित्र्याउन चाहेका वेंगरले मेसुट ओजिलको प्रस्तावलाई स्विकार्ने सम्भावना छ । जर्मनीका मिडफिल्डर ओजिललाई युनाइटेड र बार्सिलोनाले चासो देखाइरहेका छन् ।

 

प्रकाशित: १८ पुस २०७४ ०१:१५ मंगलबार

जनवरी सरुवामा क्लबहरूको योजना