खेल

सद्भावको शीर्षता कायम

युवा एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन बुधबार चार स्ट्रोकको अग्रतासहित शीर्ष स्थान कायम राखेका छन्।

राष्ट्रिय टोलीका सदस्यसमेत रहेका सद्भावले सूर्य नेपाल गल्फ टुर २०२३–२४ सिजनको पहिलो प्रतियोगितामा प्रोफेसनल गल्फर दिनेश प्रजापतिमाथि अग्रता लिएका हुन्। गोकर्ण गल्फ क्लबमा सद्भावले तेस्रो दिन चार अन्डर ६८ स्कोर गर्दै समग्रमा १४ अन्डर दुई सय बटुलेका छन्। यससँगै सद्भावले उपाधि जित्ने सम्भावना पनि बलियो बनाए।

दिनेशले तीन अन्डर ६९ अंकसहित तेस्रो दिनको खेल पूरा गरे। उनी समग्रमा १० अन्डर दुई सय ६ स्कोरमा छन्। यद्यपि, उनी प्रोफेसनलतर्फ भने सबैभन्दा अगाडि रहेका छन्।

भुवन नगरकोटीले दिनेशलाई पछ्याउँदै च्याम्पियनको पुरस्कारमा चुनौती दिए। भुवन समग्रमा सात अन्डर ३ सय ९ को सानदार स्कोर बटुलेका छन्। भुवनले बुधबार सात अन्डर ६५ को उत्कृष्ट प्रदर्शन गरे।

सञ्जय लामा र जयराम श्रेष्ठ संयुक्त रूपमा चौथो स्थानमा छन्। तेस्रो दिन सञ्जयले तीन अन्डर ६९ र जयरामले तीन ओभर ७५ को प्रदर्शन गरे। धनबहादुर थापा र एमेच्योर खेलाडी टासी छिरिङ समग्रमा इभन पार दुई सय १६ सहित संयुक्त रूपमा छैटाैं स्थानमा रहे।

धनले बुधबार एक ओभर ७३ र टासीले दुई ओभर ७४ स्कोर गरे। नीरज तामाङ समग्रमा दुई ओभर २ सय १८ सहित आठौं स्थानमा रहेका छन्। समग्रमा चार ओभर दुई सय २० सहित रवि खड्का र प्रदीपकुमार लामाले संयुक्त रूपमा नवौं स्थान बाँडे।

कुल ७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र पाँच एमेच्योर गरी कुल ३८ गल्फरले प्रतिस्पर्धा गरिरहेका छन्। दोस्रो दिनको समाप्तिमा उत्कृष्ट २१ प्रोफेसनल गल्फर र पाँच एमेच्योर खेलाडीले कट बनाउनेछन्। 

प्रकाशित: ७ मंसिर २०८० ०१:२३ बिहीबार

सद्भावको शीर्षता कायम सूर्य नेपाल सेन्ट्रल ओपन