खेल

अस्ट्रेलियाविरुद्धको ट्वान्टी–२० शृंखलामा सूर्यकुमार नयाँ कप्तान

विश्वकप फाइनल खेलेका तीन मात्र खेलाडीसहित भारतले सूर्यकुमार यादवको कप्तानीमा अस्ट्रेलियाविरुद्धको ट्वान्टी–२० शृंखलाका लागि टोली घोषणा गरेको छ।

भारतले गत आइतबार घरेलु भूमि अहमदाबादमा करिब एक लाख घरेलु समर्थकका बीच ५० ओभरको विश्वकप फाइनल ६ विकेटले हारेको थियो। उपाधि प्रतिस्पर्धाअगाडि अपराजित टोली भारतलाई प्याट कमिन्स नेतृत्वको अस्ट्रेलियाले फाइनलमा निराश बनाएको हो। सोही विश्वविजेता अस्ट्रेलियासँग भारतले घरेलु भूमिमा आगामी बिहीबारदेखि पाँच खेलको ट्वान्टी–२० शृंखला खेल्दै छ। सो फाइनल खेलेका तीन खेलाडीमध्ये एक सूर्यकुमार पनि हुन्। सूर्यकुमारले पहिलो पटक भारतको कप्तानी गर्ने जिम्मेवारी पाएका छन्।

श्रेयस ऐड्ढयर र प्रशिद्ध कृष्ण पनि विश्वकप फाइनलमा थिए। यी दुईले पनि ट्वान्टी–२० शृंखलाका लागि भारतीय टोलीमा स्थान बनाएका छन्। गत विश्वकपअगाडि पनि गत सेप्टेम्बरमा अस्ट्रेलिया र भारतले तीन खेलको ट्वान्टी–२० शृंखला खेलेका थिए।

घरेलु मैदानमा सम्पन्न त्यो शृंखला भारतले २–१ ले आफ्नो पक्षमा पारेको थियो। भारतले आगामी बिहीबार विसाखापटनममा खेल्दै शृंखलाको सुरुआत गर्नेछ। त्यसपछि यी दुईले नोभेम्बर २६ मा तिरुवनन्तपुरम् र गुहाटीमा नोभेम्बर २८ मा खेल्नेछन्।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले श्रेयस ऐय्यर शृंखलाको अन्तिम दुई खेलमा उपकप्तानका रूपमा टोलीमा जोडिने बताएको छ। अन्तिम दुई खेल डिसेम्बर १ मा रायपुर र डिसेम्बर ५ मा बैंङ्लोरमा हुने तय छ।

भारतीय टोलीमा कप्तान सूर्यकुमारसँगै ऋतुराज गायकवाड (उपकप्तान), ईशान किसन, यशस्वी जैयसवाल, तिलक बर्मा, रिन्कु सिंह, जितेश शर्मा (विकेटकिपर), वासिङ्टन सुन्दर, अक्षर पटेल, शिवम् दुवे, रवि विश्नोई, अर्शदीप सिंह, प्रसिद्ध कृष्ण, आभेश खान र मुकेश कुमार छन्। 

प्रकाशित: ६ मंसिर २०८० ०१:३४ बुधबार

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) सूर्यकुमार नयाँ कप्तान