खेल

पोखरालाई हराउँदै ललितपुर दोश्रो क्वालिफायरमा

काठमाडौँ – एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत  बुधबार भएको खेलमा पोखरा राइनोजलाई २७ रनले हराउँदै ललितपुर प्याट्रियट्स दोश्रो क्वालिफायरमा पुगेको छ। 

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले दिएको १३९ रनको लक्ष्य पछ्याएको पोखरा १९.१ ओभरमा १११ रनमा सीमित भयो।

पोखराका सुशन भारीले २७, ओपनर इशुल्लाहले २५ र किशोर महतोले २३ रन जोड्नु बाहेक अन्य कुनै व्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । पोखरलाई सस्तैमा समट्ने क्रममा ललितपुरका सन्दिप लामिछानेले ३, राशिद खान, पवन श्राफ र सन्नी पटेलले समान २÷२ विकेट लिए। 

यसअघि टस हारेर पहिले व्याटिङमा उत्रिएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३८ रनको योगफल खडा गरेको थियो । ललितपुरका सन्नी पटेलले अविजित ३८ र अ‍ोपनर शंकर रानाले ३४ रनको योगदान दिए । 
पोखराका इशुल्लाहले ३ र सुशन भारीले २ विकेट लिए। 

ललितपुरले विहीबार हुने प्लेअफमा भैरहवा ग्लाडिएटर्सको सामना गर्नेछ । 

 

प्रकाशित: १२ पुस २०७४ ११:१२ बुधबार

पोखरालाई हराउँदै ललितपुर दोश्रो क्वालिफायरमा