खेल

भलिबलमा विभागीय टिमको वर्चस्व

पोखरा रंगशालामा मंगलबार पश्चिमाञ्चल (रातो) विरुद्ध मध्यमाञ्चलका खेदाडी प्रतिस्पर्धा गर्दै ।

पोखरा–राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत मंगलबारदेखि यहाँ सुरु भएको पुरुषतर्फको प्रतियोगितामा मंगलबार तीनवटा विभागीय टिमले विजय हात पारेका छन् ।

विभागीय टोली आर्मी, सशस्त्र प्रहरीको एपिएफ, पश्चिमाञ्चल र पुलिसले जित हात पारेका हुन् । पुरुषतर्फ पहिलो खेलमा आर्मीले पूर्वाञ्चललाई २५–२०, २५–१९ र २५–१४ को सोझो सेटमा हरायो । अर्को विभागीय टिम एपिएफले सुदूरपश्चिमाञ्चललाई २५–१२, २५–१७ र २५–१३ को सोझो सेटमा स्तब्ध बनायो । पुरुषतर्फकै तेस्रो खेलमा नेपाल पुलिसले मध्यपश्चिमाञ्चललाई २५–१६, २५–१७ र २५–१६ को सोझो सेटमा हराउँदा घरेलु टिम पश्चिमाञ्चलले मध्यमाञ्चललाई २५–२१, २५–२२ र २५–१६ को सोझो सेटमा रोक्यो । 

महिलातर्फ पनि दुई विभागीय टिम विजयी भएका छन् । पोखरा रंगशालामा भएको महिलातर्फको लिग खेलमा एपिएफले पूर्वाञ्चललाई २५–२, २५–४ र २५–७ को सोझो सेटले हरायो । दोस्रो खेलमा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५–७, २५–११ र २५–१० को सोझो सेटमा हरायो । त्यस्तै महिलातर्फको घरेलु टिम पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–२, २५–४ र २५–८ को सोझो सेटमा हरायो । विभागीय टिम नेपाल पुलिसले अर्काे विभागीय टिम नेपाल आर्मीलाई कडा प्रतिस्पर्धाका बीच २५–१३, २७–२५ र २५–६ को सोझो सेटमा रोकेको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा हुन थालेको प्रतियोगितामा महिला तथा पुरुषका पाँच विकास क्षेत्रका ५ र ३ वटा विभागीय गरी ८–८ टिम सहभागी हुने प्रतियोगिता संयोजक राजकुमार गुरुङले बताए । उनका अनुुसार प्रतियोगितामा खेलाइने सम्पूर्ण विधाका उत्कृष्ट खेलाडी छनोट गरी सन् २०१८ मा आयोजना हुने १७औं एसियाली खेलकुद र २०१९ मा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी हुने उनले बताए ।

उनका अनुसार पाँच विकास क्षेत्रसहित आर्मीको त्रिभुवन क्लब, सशस्त्रको एपिएफ र नेपाल पुलिस क्लवका महिला तथा पुरुष टिम प्रतिश्पर्धामा सहभागी छन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ५०, ३० र २० हजार रुपैयाँ नगद पुरस्कार पाउने उनले बताए । उनका अनुसार उत्कृष्ट विधामा समेत खेलाडीले पुरस्कार पाउनेछन् । युवा तथा खेलकुदमन्त्री राजनकुमार केसीले प्रतियोगिताको उद्घाटन गरेका थिए । 

भलिबल संघका केन्द्रीय उपाध्यक्ष याम गुरुङका अनुुसार अहिले भाग लिएका महिला तथा पुरुष टिमबाट सबै विधाका २५ जनाका दरले खेलाडी छनोट हुनेछन् । अहिले भाग लिएका ८ वटै टिमबाट ती खेलाडी छानिनेछन् । छानिएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिनेछ र तीमध्येबाट पनि १२ जनाका दरले महिला तथा पुरुषको राष्ट्रिय टिम छनोट हुनेछ । त्यही टिम नै एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्दै खेलाइनेछ । 

प्रकाशित: १२ पुस २०७४ ००:५५ बुधबार

भलिबलमा विभागीय टिमको वर्चस्व