खेल

कीर्तिपुरमा छुटेकाहरु

काठमाडौं–चोटले नसताएको भए सुवास खकुरेल अहिले कीर्तिपुरको क्रिकेट मैदानमा जारी एभरेस्ट प्रिमियर लिगमा छाइरहेका हुन्थे । चितवन टाइगर्सका कप्तान सुवासलाई चोटले मैदान उत्रिने अनुमति दिएन । उनको ठाउँमा नेपाली युवा टोलीको नेतृत्व सम्हालिसकेका राष्ट्रिय खेलाडी पृथु बास्कोटालाई नेतृत्वको जिम्मा दियो ।


६६ नेपाली खेलाडीले इपिएलमा प्रतिभा देखाउने प्रतिस्पर्धा गरिरहँदा सुवास र पृथुका अलावा महेश क्षत्री, चन्द्र साउद, मञ्जित श्रेष्ठ, प्रेम तामाङ, सुवेन्दु पाण्डे, अन्तिम थापा, नन्दन यादव र एडिल खानजस्ता खेलाडी अनुपस्थित छन् ।

सानो कदका हसिला पृथु नेपाली क्रिकेट समर्थकमाझ प्यारो नाम हो । दारीको ‘स्टाइल’, निर्दोष अनुहार र मिडियासँग कुरा गर्ने शैलीका कारण मात्र उनी दर्शकमाझ लोकप्रिय भएका होइनन् । विभिन्न उमेरसमूह हुँदै राष्ट्रिय टोलीका लागि पनि क्रिजमा डटिरहँदा थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा जितको बाटोमा डो¥याउने खेलाडी हुन्, पृथु । उनको ब्याटिङ लयसँगै कप्तानी गर्ने क्षमताका कारण उनी समर्थकमाझ लोकप्रिय बनेका हुन् । त्यसैले सुवासको अनुपस्थितिका बावजुद चितवनको टोली दर्शकका लागि आकर्षणको केन्द्र थियो । 

तर पृथु पनि अहिले कीर्तिपुरको मैदानमा चितवनको टोलीसँग छैनन् । मंसिर २८ गते क्लब डेजाबुमा भएको घटनाका कारण नेपाल प्रहरीले ठगीको आरोपमा प्रकाउ गरेपछि उनी प्रतियोगितामा खेल्न पाएनन् । खेल सुरु हुनुअघिसम्म पनि चितवनका मालिक किशोर भट्टराईले पृथु खेलमा उपलब्ध हुने विश्वास व्यक्त गरेका थिए । तर, प्रहरीले पृथुलाई नछाडेपछि चितवनले यु–१९ टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीलाई नेतृत्व सुम्पिएको थियो । टोली अहिले दीपेन्द्रसिंहकै कप्तानीमा खेलिरहेको छ ।

राष्ट्रिय टोलीबाट थुप्रै अनुभव बटुलेका सुवास चोटका कारण खेल्न नसकेपछि अहिले चितवनको व्यवस्थापन सम्हालीरहेका छन् । अहिले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा  चितवनले खेलेका ४ मध्ये ३ खेलमा पराजय भोग्यो भने १ खेल जितेको छ । चितवन अहिले शीर्ष चारमा रहेर इलिमिनेटर खेल्न संघर्ष गरिरहेको छ ।

घरेलु क्रिकेट अत्यन्तै कम हुने नेपालमा आक्कलझुक्कल प्रतियोगिता हुँदा मैदानमा छाउने खेलाडीमध्ये इपिएलमा अनुपस्थित हुनेमा सुवास र पृथु मात्र होइनन् । ६६ नेपाली खेलाडीले इपिएलमा प्रतिभा देखाउने प्रतिस्पर्धा गरिरहँदा महेश क्षेत्री, चन्द्र साउद, मञ्जित श्रेष्ठ, प्रेम तामाङ, सुवेन्दु पाण्डे, अन्तिम थापा, नन्दन यादव र एडिल खानजस्ता खेलाडी अनुपस्थित छन् ।
आयोजकले यस पटक प्रत्येक टोलीमा १५ खेलाडी राख्न पाउने गरी ६ सहरको नाममा फेन्चाइजी टिम बनाएर बेचेको थियो । १५ मध्ये १० खेलाडी अक्सन (बोलकबोल) बाट, ३ विदेशी र १ माक्र्यु खेलाडीसँगै अनिवार्य रूपमा एक १ स्थानीय प्रतिभा राख्नुपर्ने थियो । 
नेपाली क्रिकेटको घरेलु मैदानमा प्राय देख्न पाइने केही अनुहारलाई फेन्चाइजी टोलीले पत्याएनन् भने लिएका केही खेलाडी पनि विविध कारण बस खेल्न पाएनन् । सुवास र पृथु अक्सनमा परेर पनि खेल्न नपाउने अभागी हुन् । त्यस्तै महेश, चन्द्र, मञ्जित, प्रेम, सुवेन्दु, अन्तिम, नन्दन र एडिल पनि कुनै टोलीको चासोमा परेनन् । 

यसअघि त्रिवि मैदानमै भएको खेलमा नेपाल पुलिस क्लबको कप्तानी गरेका मञ्जित इपिएलमा देख्न नपाइने अर्को ठूलो नाम हो । प्रधानमन्त्री कपमा उनले पुलिसलाई फाइनलसम्म पु¥याएका थिए । पिएम कपको फाइनल खेल वर्षाले प्रभावित बनेपछि त्रिभुवन आर्मी र नेपाल पुलिसले उपाधि बाँडेका थिए । गत वर्ष सम्पन्न धनगढी प्रिमियर लिगमा मञ्जितले काठमाडौं गोल्डेन्सबाट खेलेका थिए । 

अर्का अनुभवी बलर चन्द्र पनि इपिएलमा छैनन् । गत वर्ष धनगढी प्रिमियर लिगमा कञ्चनपुर आइकोनिकबाट खेलेका चन्द्र साउद इपिएलको अघिल्लो संकरणमा सगरमाथा लिजेन्डबाट खेलेका थिए । 
त्यस्तै गत वर्ष विशाल वारियर्सबाट खेलेका इर्शाद अहमद, परेस लोहनी यस पटक अक्सनमा पर्न सकेनन् । कान्तिपुर गोर्खाजका अन्तिम, जगदम्बा राइनोजका सुवेन्दु, प्रेम, कलर्स एक्स फ्याक्टर्सका नन्दनलगायतका खेलाडी जारी इपिएलमा खेलेका छैनन् ।

 

प्रकाशित: ११ पुस २०७४ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App