खेल

सुदुरपश्चिम गोल्डकप पुस २१ देखि

धनगढी–पुस २१ गतेदेखि माघ १ गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप हुने भएको छ । सुदूरपश्चिम ११ स्पोर्टस क्लबले सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो।

देशकै सर्वाधिक धनराशिको गोल्डकपको तयारी सुरु भएको आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले बताए । धनगढी रंगशालामा पहिलो पटक कृत्रिम प्याराफिट वनाएर दर्शकलाई खेल हेर्ने व्यवस्था मिलाउने आयोजक टोली सक्रिय भएको उनले बताए। 

झन्डै एक करोड १० लाख खर्च हुने गोल्डकपमा १२ वटा टोलीको सहभागिता रहनेछ । ए डिभिजनका क्लब, तीनवटै विभागीय टोली र भुटानको एउटा विदेशी क्लबसहित आयोजकको टोलीले प्रतियोगितामा भाग लिनेछ। 

नकआउटका आधारमा हुने प्रतियोगितामा रुस्लान थ्री स्टार क्लब, साबिक विजेता लक्ष्मी हुन्डाइ मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, सिएमजी क्लब संकटा, च्यासल युथ क्लब, रमपम झापा ११, सहारा क्लब, अग्नि रूपन्देही ११, धरान फुटबल क्लब र आयोजक सुदूरपश्चिम ११ का टिम सहभागी हुनेछन्। 

त्यस्तै भुटानको डुक स्टारले  पनि प्रतियोगितामा भाग लिने आयोजकले जनाएको छ । थ्री स्टार एक वर्षपछि घरेलु फुटबलमा यही प्रतियोगितामार्फत फर्कन लागेको सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबका महासचिव प्रकाश शाहीले बताए । 

प्रतियोगिताको विजेताले उपाधिसहित ११ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन्। 

त्यस्तै उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड, उदीयमान खेलाडी, सर्वाधिक गोलकर्ता र फेयर प्ले टोलीले १५/१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै हरेक खेलेको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्ने ।  

 

प्रकाशित: ११ पुस २०७४ ०१:०६ मंगलबार

सुदुरपश्चिम गोल्डकप २१