खेल

महिला टी–२० सिरिज: नेपालले आज हङकङसँग खेल्दै

तस्बिर सौजन्यः क्रिकेट एशोसिएसन नेपाल

चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल हङकङसँग खेल्न लागेको छ। खेल अहिले बिहान ११ः४५ बजे सुरु हुने छ। पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ। हङकङले भने पहिलो खेलमा बुधवार जापानलाई पराजित गरेको थियो। आजको खेल जितेमा हङकङले उपाधि भिडन्त पक्का गर्ने छ। 

हङकङमा जारी सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्। आइसिसी बरियतामा तान्जानिया १९औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा छ। यस्तै बरियतामा हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा रहेको छ। नेपालले समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ। शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन्।  

नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन्। नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षकमा मनोज कटुवाल रहेका छन्। 

प्रकाशित: ३० कार्तिक २०८० ०३:४३ बिहीबार

हङकङ टि–२० सिरिज नेपाल