खेल

सुदुरपश्चिम ११ र आयोजक सेमिफाइनलमा

धनगढी–सुदूरपश्चिम ११ स्पोर्ट्स क्लब र आयोजक पशुपति फारवेस्ट युवा क्लब धनगढीमा जारी तेस्रो संस्करणको फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । स्पोर्ट्स स्कुल फुटबल एकेडेमी दाङलाई मंगलबार १–० ले पराजित गर्दै  सुदुरपश्चिम ११ ले उपाधि दौडलाई कायम राखेको हो । धनगढी रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक पहिलो खेलमा सुदूरपश्चिम ११ का चेतन थारूले  खेलको १६औं मिनेटमा निर्णायक गोल गरेका थिए । रक्षापंक्तिमा खेल्ने चेतनले कर्नरको प्रहारलाई हेडमार्फत गोल गरे । विपक्षीका धेरै प्रहारसमेत छेकेका उनी खेलको म्यान अफ द म्याचसमेत भए । 
जित हात पारे पनि आफ्नो टोलीले सोचेअनुसारको प्रदर्शन गर्न नसकेको सुदूरपश्चिम ११ का प्रशिक्षक ललित चन्दले बताए । धेरै स्कोर गर्न सकिने भए पनि केही खेलाडीको अभाव खट्किएको उनको भनाइ थियो । स्पोर्ट्स स्कुल फुटबल एकेडेमी दाङका प्रशिक्षक सुधीर गुरुङले कक्षा १२ मा अध्ययनरत विद्यार्थी सम्मिलित आफ्नो टोलीले निकै राम्रो खेलेकोमा खुसी व्यक्त गर्दै राष्ट्रिय खेलाडीले भरिएको विपक्षी टोलीलाई कडा टक्कर दिन सफल भएको बताए । स्पोर्ट्स स्कुल फुटबल एकेडेमी दाङ अघिल्लो संस्करणमा पनि सहभागी भएको थियो । त्यो बेला सुरुमै ६ गोल खाएको टोलीले यसपालि पहिलो खेलमा ८–० को जित दर्ता गरेको थियो । 
धनगढी रंगशालामै मंगलबार भएको अन्तिम क्वाटरफाईनलमा सुदूरपश्चिम ११ ‘बी’ लाई  १–० ले नै पराजित गर्दै आयोजक फारवेस्ट सेमिफाइनलमा प्रवेश गरेको छ । विदेशी खेलाडीसहित मैदान उत्रिएको आयोजक टिमका लागि विदेशी खेलाडी ओलाकेज आइस्याकले निर्णायक गोल गरे । उनले  खेलको ३२आंै मिनेटमा कर्नरमा प्राप्त बललाई हेडमार्फत गोल गरेका थिए । आइस्याक म्यान अफ द म्याच भए । 
विदेशी खेलाडी पनि टोलीमा भएका कारण आपसी तालमेल नमिले पनि जित हात परेको फारवेस्ट पशुपति युवा क्लबका प्रशिक्षक हरि बोहोराले बताए । सुदूरपश्चिम ११ ‘बी’ का म्यानेजर शिशिर हमालले उमेर समूहका खेलाडी भए पनि राम्रो खेलेको र पाएका मौका गुमाउँदा हार बेहोरेको बताए । सुदूरपश्चिम ११ ले सेमिफाइनलमा बुधबार पिएफए अत्तरियासँग प्रतिस्पर्धा गर्नेछ भने आयोजक फारवेस्ट पशुपतिले बिहीबार न्यु बुद्ध युवा क्लब फूलबारीको सामना गर्नेछ । 

 

प्रकाशित: ५ पुस २०७४ ००:४४ बुधबार

सुदुरपश्चिम ११ आयोजक सेमिफाइनलमा