खेल

क्रिकेटर गुल्सन झालाई गृह जिल्लामा अभिनन्दन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर गुल्सन झालाई गृह जिल्ला सर्लाहीमा अभिनन्दन गरिएको छ।नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आज सोमवार सदरमुकाम मलंगवामा एक समारोहका बिच अभिनन्दन गरेको हो।

सर्लाहीको चक्रघट्टा गाउँपालिका ७ सगरदिना स्थायी घर भई मलंगवा नगरपालिका ८ मा बस्दै आएका क्रिकेटर गुल्सन झालाई जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला र चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले संयुक्त रुपमा अभिनन्दन गरेको नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीले जानकारी गराएका छन्।

नेपालले पछिल्लो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण सफलता  हासिल गरिरहेको र क्रिकेटर झाले नेपाली क्रिकेटको सम्मानलाई बढाउन बलिङ र व्याटिङ दुवै क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेकाले गृह जिल्लामा अभिनन्दन गरिएको शाखाले जनाएको छ।

नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले आफ्नो परिश्रम र प्रतिभाले राज्यको सेवा गरिरहेका झाको अभिनन्दनले क्रिकेट क्षेत्रमा भविष्य देख्नेलाई हौसला प्रदान भएको बताएका छन्।

भैरवी दल गण पाँच कुमारीका गणपति सूर्यबहादुर कार्की, नेपाल प्रहरीका सर्लाही प्रमुख एसपि प्रवीण धिताल, सशस्त्र प्रहरी बल सर्लाहीका प्रमुख एसपि तुलबहादुर भन्डारी, सर्लाही क्रिकेट संघका कोषाध्यक्ष तुलसी यादव, क्रिकेटर झाका पिता अखिलेशकुमार झासमेतको सहभागिता रहेको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै जिसस सर्लाही प्रमुख सिंहले छठपछि झाको बृहद नागरिक अभिनन्दन गरिने जानकारी गराएका छन्।

कार्यक्रममा क्रिकेटर झाले आफ्नो नगरमा सम्मानित हुँदा आफूलाई राष्ट्रप्रति अझ कर्तव्यबोध भएको प्रतिक्रिया दिएका छन्। 

प्रकाशित: २७ कार्तिक २०८० १४:४८ सोमबार

क्रिकेटर गुल्सन झालाई गृह जिल्लामा अभिनन्दन