खेल

च्याम्पियन बनेर फर्कियो यू-१६ टोली

काठमाडौं– एसिसी यू–१६ च्याम्पियनसिप इस्टर्न रिजन क्रिकेट च्याम्पियन बनेको नेपाली टोली सोमबार नेपाल फर्किएको छ।

नेपालले आइतबार सिगापुरलाई ७१ रनले हराउँदै च्याम्पियनसिपको उपाधि जितेको थियो । थाइल्यान्डमा भएको प्रतियोगिताको सेमिफाइनलमा नेपालले मलेसियालाई ७२ रनले हराएको थियो । अपराजित रहँदै च्याम्पियन बनेको नेपालले समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३ सय ३७ रनले हराएको थियो । जुन प्रतियोगितामा नेपालको सर्वाधिक फराकिलो अन्तरको जित हो। यसैगरी उपाधि जित्ने क्रममा नेपालले समुह ‘ए’ को खेलमा हङकङलाई ४ विकेटले र आयोजक थाइल्यान्डलाई पहिलो खेलमा १ सय ३३ रनले पराजित गरेको थियो ।

आर्थिक कारणले सहभागिता अनिश्चित भएका बेला नेपालले सुरुआत देखी सानदार खेल खेलेको थियो । नेपाली टोलीका कप्तान एवम राष्ट्रिय टोली पूर्व खेलाडी दीपेन्द्र चौधरीले छोटो समयको तयारीले खेलाडीले उत्कृष्ट खेल खेलेको बताए।

‘हामीलाई कुनै खेल जित्न कठिन भएन । प्रतियोगिता अघि चुनौति धेरै थिए । क्यान निलम्बन भएको बेला हामीले सकारात्मक रुपमा लिएर बन्द प्रशिक्षण गरेको थियौं । खेलाडीले मेहनत मेहनत गरे, चौधरीले भने, ‘तयारी छोटो भएपनि हामी उपाधि जित्ने लक्ष्य सहित गएको थियौं । १०–१२ दिनको प्रशिक्षणमा गरेको मेहनतमा सफलता हासिल गर्न कठिन थियो । हामी प्राविधिक पक्षमा भन्दा उपाधि जित्ने कुरामा केन्द्रित थियौं । टिमको सबै खेलाडी र अन्य साथीले मेहनत गर्नु भयो । खेलाडीले त्यसलाई बुझेर खेले।’

प्रशिक्षक चौधरीले युवा खेलाडीले धेरै समय पछि ब्याटिङ राम्रो गरेको बताए। उनले भने, ‘खेलाडीले आफनो क्षमता देखाएका छन। अब उनीहरुले खेल्ने अवसर पाउनु पर्छ । घरेलु क्रिकेट प्रतियोगिता, खेल्ने वातावरण र आर्थिक सहयोग भए युवा खेलाडीले भविष्यमा राम्रो गर्न सक्छन ।’

प्रतियोगिता अघि नेपाललाई शुसिल कोइराला मेमोरियल फाउण्डेसनले आर्थिक सहयोग गरेको थियो। प्रतियोगिताको ब्यक्तिगत प्रदर्शनतर्फ पनि नेपाली खेलाडीले सफलता हासिल गरेका थिए । नेपालका त्रित राज दास सर्वाधिक रन बनाउने खेलाडी बने । उनले १ सय ६२ रन बनाएका थिए । त्यस्तै दोस्रो स्थानमा पनि नेपालकै विशाल विक्रम केसी थिए ।

प्रतियोगिता भर विशालले १ सय ३६ रन प्रहार गरेको थिए । यसैगरी सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा नेपालका नारायाण जोसी दोस्रो स्थानमा रहे । उनले प्रतियोगितामा ११ विकेट लिएका थिए । शिर्ष स्थानमा रहेको मलेसियन मोहमद अफिकले १२ विकेट हासिल गरेका थिए ।

यसैगरी नेपाली टोलीका कप्तान रित गौतम प्रतियोगितामा सतक प्रहार गर्ने एकमात्र खेलाडी बने । उनले म्यानमार विरुद्ध अविजत १सय ६ रन बनाएका थिए । प्रतियोगितामा नेपालका प्रतिस जिसी र त्रित राजले म्यानमार विरुद्ध, विशाल विक्रमले सिगापुर अर्धसतक प्रहार गरेका थिए । यसैगरी त्रित र प्रतिसले प्रतियोगितामा सर्वाधिक छिटो अर्धसतक प्रहार गरेका थिए । दुबैले म्यानमार विरुद्ध छिटो अर्धसतक प्रहार गरेका थिए । त्रितले २९ र प्रतिसले ३१ बलमा अर्धसतक बनाएका थिए । 

युवा टोलीका कप्तान रित गौतमले विगतको प्रतिष्ठालाई निरन्तरता दिन सफल हुँदा खुसी लागेको बताए । ‘ उमेर समुहमा नेपालले कहिले पनि नराम्रो नतिजा निकालेको छैन । हामीले विगतमा पनि उमेर समूहको उपाधि जित्दै आएको छौं । त्यसलाई हामीले निरन्तरता दियौं । यसले यु १९ र सिनियर टिममा हामीलाई पुग्न सहयोग गर्छ । हाम्रो अबको बाटो भनेको यु १९ हुदै सिनियर टिमबाट खेल्ने हो । त्यसका लागी खेलाडीले आफनो क्षमता देखाउन पाएका छन, रितले भने, ‘हामी आफनो भविष्यको लागी मेहनत गरिरहेको छौं । नेपालमा क्रिकेट प्रतिभाको कमी छैन । प्रशिक्षण, खेल खेल्ने अवसर पाए हामी अहिलेको भन्दा माथिल्लो स्तरमा सफलता हासिल गर्न सक्छौं।’

 

प्रकाशित: ३ पुस २०७४ १३:१७ सोमबार

च्याम्पियन बनेर फर्कियो यू-१६ टोली