खेल

अस्ट्रेलियाको उत्कृष्ट पुनरागमन

सतक बनाएपछि अस्ट्रेलियाका स्टिभ स्मिथ ।

पर्थ–स्टिभ स्मिथ र मिचेल मार्सले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि अस्ट्रेलियाले शनिबार एसेस शृंखलाको तेस्रो टेस्ट उत्कृष्ट पुनरागमन गरेको छ । तेस्रो दिनको समाप्तिमा अस्ट्रेलियाले पहिलो इनिङमा १ सय ४६ रनको अग्रता लिएको छ । अस्ट्रेलिया ५४९–४ को स्थितिमा छ । कप्तान स्मिथ २ सय २९ र मार्स १ सय ८१ रन बनाएर क्रिजमा छन् । इङ्ल्यान्डले पहिलो इनिङमा सबै विकेट गुमाएर ४ सय ३ रन बनाएको थियो ।

पाँच खेलको एसेस शृंखलामा सम्भावना कायम राख्न इङ्ल्यान्डलाई जारी तेस्रो टेस्ट जित्नै पर्छ । तर, दिनभरिमा ३ सय ४६ रन दिएर १ विकेट मात्र लिन सकेपछि भ्रमणकारी टोली दबाबमा परेको छ । शृंखलामा अस्ट्रेलिया २–० ले अघि छ । इङ्ल्यान्डका सहायक प्रशिक्षक पाउल फारब्रेसले विदेशी भूमिमा इङ्ल्यान्डको कमजोर बलिङ आक्रमणको उदांग भएको बताए ।
‘आजको खेलबाट केही सिक्नुपर्छ भन्ने मलाई लाग्दैन । किनकि हामीलाई थाहा छ,’ सहायक प्रशिक्षक फारब्रेसले भने, ‘हाम्रो बलिङमा तीव्रता छैन । यो शृंखलामा के भइरहेको छ भनेर हामीलाई थाहा छ । हामीसँग त्यस्तो स्पिनर पनि छैन ।’
अस्ट्रेलियाका स्मिथले इङ्ल्यान्डका बलरलाई दबाबमा राखेका थिए । स्मिथले दोस्रो टेस्ट दोहोरो शतक पूरा गरे । उनले जारी सिजनमा १ हजार रन पूरा गरिसकेका छन् । आलोचना खेपिरहेका मिचेल मार्सले घरेलु मैदानमा पहिलो शतक पूरा गरे । मिचेल र स्मिथले पाँचांै विकेटका लागि ३ सय १ रनको अविजित साझेदारी गरेका थिए ।  पर्थमा अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्ध बनाएको यो सबैभन्दा ठूलो साझेदारी हो । स्मिथले २८ चौका र १ छक्का प्रहार गरेका छन् भने मार्सले २९ चौका प्रहार गरिसकेका छन् ।
 

 

प्रकाशित: २ पुस २०७४ ००:३३ आइतबार

अस्ट्रेलियाको उत्कृष्ट पुनरागमन