खेल

नेपाली किशोरीहरु बंगलादेशमा

काठमाडौं–महिला साफ यु–१५ च्याम्पियनसिप खेल्न नेपाली टोली शुक्रबार बंगलादेश पुगेको छ । गंगा गुरुङको प्रशिक्षणमा रहेको नेपालले आइतबार आयोजक बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसपछि नेपालले मंगलबार भारत र बिहीबार भुटानसँग खेल्नेछ । 
बंगलादेशको ढाकामा आइतबार बाट सुरु हुने प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, भारत र भुटानले प्रतिस्पर्धा गर्नेछन । राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा एक–अर्कासँग खेलेपछि शीर्ष दुई स्थानमा रहने टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन ।
शुक्रबार राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले महिला टोलीलाई विदाई गरे । गुरुङ, पारस चौधरी र विनोद महर्जन सहितको टिमले प्रतियोगिता खेल्ने महिला टोलीलाई प्रशिक्षण गराएको थियो । च्याम्पियन बन्ने लक्ष्यसहित बंगलादेश गएकोे नेपालको मुख्य प्रतिद्वन्द्वी भारत भएको प्रशिक्षक चौधरीले बताए । 
उनले भने, ‘उमेर समूहको फुटबलमा पनि भारत हाम्रो नियमित प्रतिद्वन्द्वी हो । भारतलाई हराउन सके हामी उपाधि जित्न सक्छौं । दक्षिण एसियाका अन्य टिमलाई हराउन कठिन छैन । तर भारतसँग सधै हाम्रो उच्च स्तरको प्रतिस्पर्धा हुने गरेको छ ।’ 
राउन्ड रोबिन लिगका आधारमा प्रतियोगिता हुने भएकोले पनि नेपाललाई फाइनल पुग्न कठिन नभएको चौधरीले बताए । एन्फाले प्रतियोगिताका लागि कात्तिक २० देखि प्रशिक्षण सुरु गरेको थियो । बन्द प्रशिक्षणमा रहेका खेलाडीबाटै एन्फाले प्रतियोगिताको लागि २० सदस्यीय टोली छनोट गरेको थियो । त्यसमा तीन गोलकिपर, ६ रक्षक, ६ मिडफिल्डर र ५ स्ट्राइकर छन् । 
च्याम्पियनसिपको तयारीका लागि सुरुमा ४७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो । अन्य १० खेलाडीलाई पनि कोकाकोला विद्यालयस्तरीय फुटबलबाट छानेर बन्द प्रशिक्षणमा समावेश गरिएको चौधरीले बताए ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान र लगनखेलस्थित आर्मीको मैदानमा नेपालले अन्तिम तयारी गरेको थियो । 

नेपाली टोलीः
गोलकिपरः करिना धिमाल, वितिसा राजवंशी, पुष्पा गुरुङ
रक्षकः सरिस्मा थापा, मनमाया बिक, सुष्मा राई, सुरक्षा सिंह, सरस्वती हमाल, सुप्रिया रजक
मिडफिल्डरः प्रीती राई, मुना मगर, सविता रानामगर, रिया बानु, सुष्मा जिटी, अस्मिता गुरुङ
फरवार्डः अस्मिता चौधरी, निकिता थोकर, अञ्जली चन्द, अस्मिता नेपाल, निकिता धिमाल ।
व्यवस्थापकः विमला पौडेल
प्रशिक्षकः गंगा गुरुङ, पारस चौधरी, विनोद महर्जन

प्रकाशित: १ पुस २०७४ ००:५३ शनिबार

नेपाली किशोरीहरु बंगलादेशमा