खेल

सेना दिवसमा खुला म्याराथन

काठमाडौं – नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवसको अवसरमा प्रधानसेनापति तेस्रो खुला म्याराथन प्रतियोगिता गर्ने भएको छ ।  पुस २७ गते सेनाले म्याराथन, हाफ म्याराथनलगायत अन्य छोटो दूरीको दौड गर्ने तयारी गरिरहेको बिहीबार सैनिक जनसम्पर्क निर्देशनालयले बताएको छ । म्याराथनमा करिब ५ सय खेलाडीको सहभागिता रहने सेनाले पत्रकार सम्मेलनमा बतायो । गत वर्ष म्याराथनमा ३ सय खेलाडीको सहभागिता रहेको सेनाका एथलेटिक्स प्रशिक्षक पुष्पराज ओझाले बताए । यसै गरी हाफ म्याराथनमा करिब ७ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले अनुमान गरेको छ । 

आधुनिक नेपाली सेना स्थापनाको २ सय ५० वर्ष पूरा भएको अवसरमा ‘रन फर फन’ को नाराका साथ गर्न लागेको म्याराथन र अन्य दौडमा करिब ५ हजार सहभागिता रहने सहायक रथी नैनराज दाहालले बताए । सैनिक मञ्च टुँडिखेलबाट सुरु भएर काठमाडौंको विभिन्न स्थानमा पुगेर पुनः सैनिक मञ्चमा आएर टुंगिने म्याराथन विजेताले १ लाख, उपविजेताले ५० हजार, तेस्रोले २५ हजार, चौथोले १५ हजार, पाँचांैले ७ हजार र छैटौं स्थान प्राप्त गर्नेले ५ हजार पुरस्कार पाउनेछन् । महिला म्याराथनमा सहभागिता कम हुने भएकाले यस वर्ष समावेश नगरिएको आयोजकले बताएको छ । 

महिला पुरुष हाफ म्याराथन विजेताले समान २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार पाउनेछन् । यसै गरी म्याराथनसँगै ४५ वर्ष माथिको महिला पुरुष दौड, विदेशी पाहुनातर्फको पुरुष महिला दौड, ५ किलो स्कुल छात्र, छात्रा दौड, ५ किलोमिटर वाकाथन समावेश गरिएको छ । सहसेनानि एवम् राष्ट्रिय फुटबलर विकास मल्लले खेलाडीको सुरक्षालाई मध्यनजर गरेर स्पष्ट रूपमा रिट छनोट भैसकेको बताए ।

सहायक रथी दाहालले नेपाली धावनले अन्तराष्ट्रिय स्तरमा पदक जित्ने सम्भावनालाई देखेर प्रतियोगिता गर्न लागेको बताए । ‘हामीले साग, एसियन स्तरको प्रतियोगितामा हामीले पदक जित्ने सम्भावना धेरै छ । नेपाली खेलाडीको हौसला बढोस् भनेर पनि हामीले प्रतियोगिता गर्छौं,’ दाहालले भने, ‘प्रतियोगिताको मुख्य उद्देश्य खेलाडीलाई प्रोत्साहन पु¥याउनु हो । सेनामा पनि प्रतिभावान् धावक छन् । र हामीले म्याराथनलाई उत्सवको रूपमा लिएका छौं । सेनाले गरेको प्रतियोगिताबाट खेलाडीले आफ्नो क्षमतालाई बढाउन सक्छन् ।’ 

महासेनानी प्रकाश थापाले सेनाले नेपालको म्याराथन  विकासलाई उच्च प्राथमिकतामा राखेर प्रतियोगिता आयोजना गर्ने गरेको बताए । सेनाले गर्ने म्याराथनबाट हरेक वर्ष नयाँ खेलाडी उत्पादन भैरहेको थापाले बताए । 
नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले प्रधानसेनापति म्याराथनलाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने आधार मान्ने बताए ।  
 

 

प्रकाशित: २९ मंसिर २०७४ ०१:४३ शुक्रबार

सेना दिवसमा खुला म्याराथन