खेल

जुडो खेलाडी देवकीमाया स्वदेश फिर्ता

नेपालकी देवकीमाया श्रेष्ठ जुडोस अन्तर्राष्ट्रिय जुडो कोचिङ सेमिनारमा सहभागी भई स्वदेश फर्किएकी छन्।

जापानको हरतसुगासी कानागावास्थित टोकाई विश्वविद्यालयमा एक महिनासम्म भएको सेमिनारमा सहभागी भई देवकी स्वदेश फर्किएकी हुन्। सेमिनार एनपिओ जुडोसले आयोजना गरेको हो।

सेमिनारका केही कक्ष जापानको कोदोकानमा पनि भएका थिए। जुडोको कोचिङलगायत विविध शिक्षा हासिल गर्ने क्रममा देवकीले जापानको विभिन्न डोजो, जुनियर हाईस्कुल, सिनियर हाईस्कुल, कलेज, विश्वविद्यालयहरूमा प्रशिक्षण गर्ने अवसर पाएकी थिइन्। देवकीलाई एनपिओ जुडोसका मुख्य प्रशिक्षक मिसुमोटोलगायतले प्रशिक्षण दिएका थिए।

गैरनाफामूलक संस्था एनपिओ जुडोसका अध्यक्ष ओलम्पिकका स्वर्ण विजेता कोसेई इनोई हुन्। यस्तो सेमिनारमा नेपालबाट जुडोमा सहभागी हुने देवकी पहिलो खेलाडी भएको नेपाल जुडो संघका सदस्यसमेत रहेका बन्दी सहायता नियोग (पाम) का जुडो प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठले जनाएका छन्।

देवकी पाममै ७ वर्षको उमेरदेखि हुर्केकी हुन्। त्यहीँबाट देवकीले सन् २००९ देखि जुडो खेल्न थालेकी थिइन्। देवकी हाल पाममा सहायक प्रशिक्षक छिन्। घरेलु प्रतियोगितामा देवकी एक पटक मात्र मनीता श्रेष्ठ प्रधानसँग फाइनलमा पराजित भएकी छन्।

मनीता पनि पामकै उत्पादन हुन्। देवकीले हालै चीनको हाङझाउमा भएको १९औं एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरेकी थिइन्। देवकीका दाइ इन्द्र र निशा पनि आआफ्नो तौलसमूहका जुडोकै राष्ट्रिय च्याम्पियन हुन्। देवकीले सेमिनारबाट आफूले महत्वपूर्ण ज्ञान हासिल गरेको बताउँदै आफूले सिकेको सीप अरूलाई पनि सिकाएर व्यवहारमा लागू गर्ने बताइन्।

देवकीले सेमिनारमा सहभागिताको अवसर प्रदान गरेकोमा नेपाल जुडो संघलाई धन्यवाद दिँदै एनपिओ जुडोसको पनि प्रशंसा गरिन्। सूर्यनारायण श्रेष्ठले देवकीले हासिल गरेको ज्ञानबाट नेपाली जुडोलाई धेरै फाइदा पुग्ने बताउँदै यस्ता तालिममा नेपालको सहभागिता नियमित हुन सके नेपाली जुडोको विकासमा समेत टेवा पुग्ने बताए।

प्रकाशित: २३ कार्तिक २०८० ०२:१४ बिहीबार

जुडो खेलाडी देवकीमाया स्वदेश फिर्ता गैरनाफामूलक संस्था एनपिओ जुडोस